गण्डकीमा फरार मेयरबाहेक सबैले गरे मतदान

पोखरा । राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेशमा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीबाहेक सबै मतदाताले मतदान गरेका छन् । मेयर नेपाली बागलुङ पोखराको इमेज सहकारी ठगी प्रकरणमा उजुरी परेपछि ५ जेठदेखि फरार छन् ।
निर्वाचन कार्यालय गण्डकीका अनुसार नेपालीबाहेक बाँकी २२९ जनाले मतदान गरेका छन् । गण्डकीमा स्थानीय तहबाट १ महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिकाका प्रमुख र उपप्रमुख गरी १ सय ७० जना मतदाता छन् । त्यस्तै प्रदेशसभाका ६० सदस्य गरी २३० जना मतदाता छन् ।
गण्डकीमा सत्तारुढ गठबन्धनबाट अन्यतर्फ कांग्रेसका गोरखाका किरणबाबु श्रेष्ठ, अपांगतर्फ तनहुँका पदमबहादुर परियार र महलिामा माओवादीबाट पर्वतकी मनरुपा शर्मा उम्मेदवार छन् ।
एमालेबाट अन्यमा स्याङ्जाका चक्रबहादुर पराजुली, अपांगता/अल्पसंख्यकबाट मुस्ताङका हेमन्द्र शेरचन र महिलातर्फ गोरखाकी सम्झना देवकोटा उम्मेदवार छन् । राप्रपाले रोमबहादुर भण्डारी र गौमाया श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।
प्रतिक्रिया