सोमबार, असार २३, २०८२

सुन्तला बेचेर करोडौँ आम्दानी

नेपालखोज २०८० माघ २० गते १३:३७

गलकोट (बागलुङ) । बागलुङको सुन्तला गाउँका रुपमा परिचित सिगानाका किसानले यसवर्ष सुन्तला बिक्री गरेर रु तीन करोड भित्राएका छन् ।

गतवर्ष भन्दा यस वर्ष सिगानामा सुन्तला उत्पादनमा वृद्धि भएको किसानको भनाइ थियो । यस वर्ष उनीहरुले गत वर्षकै मूल्यमा बगैँचा नै व्यापारीलाई बिक्री गरेका थिए । बोटबाटै सुन्तला बिक्री गर्दा सरदर मूल्य प्रतिकेजी ५० पर्न गएको छ ।

यस वर्ष उत्पादित यहाँको सुन्तला ९० प्रतिशत बजार पुगिसकेको छ । गणेश कृषि व्यावसायिक सहकारीमार्फत सुन्तलाको बजारीकरण समेत हुँदै आएको छ ।

बागलुङ नगरपालिका–८ सिगानाका किसानले सुन्तला बिक्रीबाट रु तीन करोड भित्राउन सफल भएका हुन् । सहकारीले सङ्कलन गरेको तथ्याङ्कअनुसार गत वर्ष सुन्तला बिक्रीबाट दुई करोड ७५ लाख भित्राइएको थियो । यस वर्ष रु तीन करोड ५० लाखको सुन्तला बिक्री गर्ने लक्ष्य रहेपनि मूल्य वृद्धि नहुँदा करिब तीन करोडको मात्रै बिक्री भएको किसानले बताएका छन् ।

अहिले सहकारीले सुन्तला बिक्रीको तथ्याङ्क सङ्कलन गरिरहेको सहकारीका सल्लाहकार एवं अगुवा सुन्तला किसान शिवकुमार खड्काले बताए । ‘गत वर्ष तीन करोडको अनुमान गरिएकामा सबै तथ्याङ्क दुई करोड ७५ लाख गाउँ भित्रिएको पाइयो’, उनले भने, ‘अहिले गत वर्ष भन्दा केही बढी आम्दानी भएको छ ।’

सिगाना गाउँको साविक ३, ४, ५ र ७ वडामा सुन्तला राम्रो उत्पादन हुने खड्काले जानकारी दिए । ‘सहकारीमा मात्रै आबद्ध एक सय ५० किसान सुन्तला खेतीमा छन्’, उनले भने, ‘सहकारीमार्फत ४० हजार नयाँ बिरुवा अनुदानमा वितरण गरिरहेको थियो । अबको पाँच वर्षमा रु पाँच करोडको सुन्तला बिक्री गर्ने लक्ष्य रहेको छ ।’

आठ रोपनी जग्गामा व्यावसायिक सुन्तलाखेती गरेका अनन्तबहादुर खड्काले यस वर्ष पाँच लाख ५० हजारमा सुन्तला बगान पोखराका व्यापारीलाई बिक्री गरेको बताए । उनले यस वर्ष सुन्तलाको उत्पादन बढेपनि मुल्य भने पोहरकै भएकाले आम्दानी पनि उस्तै भएको बताए ।

सिगानाका किसानले न्यूनतम २५ हजारदेखि अधिकतम पाँच लाखसम्म सुन्तलाको बिक्री गर्दै आएका छन् । खड्काका अनुसार पोखरा, चितवन, नारायणगढ र धादिङका व्यापारीले यहाँका सुन्तला बोटबाटै टिपेर लैजाने गरेका छन् । बगैँचा विस्तार र मलजलको उचित व्यवस्था भए सुन्तालाको उत्पादन राम्रो हुने उनको भनाइ थियो ।

प्रतिक्रिया