शुक्रबार, असार २०, २०८२

अनुसन्धानकर्मीलाई झुक्काइरहेको बाँदर !

नेपालखोज २०८० माघ २६ गते १३:२०

गण्डकी बाँदरको उपद्रो रोक्न मानिसहरुले केसम्म गरेनन् ? केही दिनअघि पोखरा महानगरपालिका–१९ ले बाँदर नियन्त्रणका लागि भन्दै ‘मेरो रुख, म काट्छु’ अभियान नै घोषणा गर्‍यो । भलै वडाको त्यो निर्णय धेरै समय टिकेन ।

वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सार्वजनिक सूचनामार्फत घर वरपरका रुख काट्न वडावासीलाई गरेको आह्वानको चौतर्फी विरोध भयो । महानगरपालिकाको कार्यालयले वडालाई पत्राचार गर्दै उक्त सूचना रद्द गर्न र रुख कटानको कार्य बन्द गर्न अनुरोध गर्‍यो ।

वडा रुख काट्ने अभियानबाट पछाडि हट्यो । बाँदरको अत्याचारबाट आक्रान्त भएको मानिस बाँदर नियन्त्रणमा जस्तोसुकै अप्रिय र अनौठो निर्णय लिन पनि तयार छ भन्ने यसले देखाउँछ । गुल्मीको रुरु क्षेत्र गाउँपालिका–२ ग्वाँदीका बाँदर प्रभावित किसानलाई बिहीबार गुलेली र मटेङ्ग्रा बाँडेको विषयले पनि चर्चा पायो ।

समुदायमा कांग्रेस अभियानअन्तर्गत नेपाली काँग्रेस, गुल्मीले किसानलाई बाँदर लखेट्न काम लाग्ने गुलेली र मटेङ्ग्रा दिएको हो । हालै पर्वतको कुश्मा नगरपालिका–९ मा बाँदर धपाउन वडाध्यक्ष राम शर्मा लामिछानेसहित १५ जना स्थानीयवासी पालो बाँडेर खटिएको खबरले पनि धेरैको ध्यान खिच्यो ।

यसरी नियन्त्रणका अनेक जुक्ति लगाउँदासमेत गाउँघरमा बाँदर आतङ्क किन ज्यूँका त्यूँ छ ? बाँदर धपाउन घरेलु उपाय रच्ने किसानदेखि, यन्त्र–उपकरण बनाउने वैज्ञानिक र अनुसन्धानकर्मीसम्मलाई यो प्रश्नले चिमोटिरहेको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका पूर्वअध्यक्ष लेखनाथ पोखरेल यसमा भुक्तभोगी नै छन्।

उनले बाँदर नियन्त्रणका लागि आफू गाउँपालिकाको नेतृत्वमा हुँदा गरेका पहल र प्रयासको फेहरिस्त नै सुनाए। ‘फिरन्ते जाति राउटेले बाँदरको सिकार गर्ने हुँदा उनीहरुलाई सल्यानबाट गाउँपालिकामा ल्याउने तयारी र बन्दोबस्तसमेत गरिसकेका थियौँ, पछि प्रशासनले रोक्यो’, गाउँपालिका राष्ट्रिय महासङ्घका सल्लाहकार पोखरेलले भने, ‘राउटेलाई बाँदर सिकार र आहारविहार गर्न छुट भएकाले त्यसबाट बाँदरको संख्या घटाउनमा मद्दत पुग्ने हामीले सोचेका थियौँ ।’

स्याङ्जाको भिरकोट नगरपालिका–७ का युवा भविश्वर पौडेलले केही वर्षअघि आविष्कार गरेको बाँदर धपाउने बन्दुक पनि लगेर किसानलाई बाँडेको उनले बताए । ‘पछि गाउँकै किसान र युवालाई प्रविधि सिकाएर बाँदर धपाउने बन्दुक गाउँपालिकामै बनाउन र बाँदर प्रभावित किसानलाई वितरण गर्न थाल्यौँ’ , पोखरेलले भने, ‘बन्दुक पड्काउँदा एक वर्षजति त बाँदर भागे, बालीनाली केही जोगियो, तर अहिले बन्दुकलाई पनि बाँदरले टेर्न छाडिसके ।’

बाँदर धपाउन बोटविरुवा र बालीनाली छेउछाउ ब्याट्रीबाट चल्ने ठूल्ठूला कृतिम बाघ, सर्पसम्म राखेर हेरिएको उनले सुनाए । ‘बाँदरलाई बस्तीतिर छिर्न नदिन घाँसहरु पनि रोप्यौँ, अण्डाको गन्धले बाँदर आउँदैन भनेर अण्डा फुटाएर रुखमा पनि दलेर हेर्‍र्यौँ’, पोखरेलले भने, ‘सुने र थाहा भएजतिका उपाय लगाउँदा पनि बाँदर नियन्त्रणमा खास उपलब्धि हुन सकेन, बाँदरको रजगज चलेकै छ ।’

बाँदरले बालीनाली खाइदिएर गाउँपालिकाका किसान हैरान परेपछि बाँदर विज्ञसहित वन विज्ञानका विद्यार्थीलाई नै गाउँमा बोलाएर बाँदरको चरित्र र आनीबानीबारे अध्ययनसमेत गरिएको उनले बताए । ‘पहिले बारी र पाखातिर मात्र चहार्ने बाँदर अहिले भान्छामै छिरेर कसौँडीको भातसमेत लगेर जान थाल्यो, घरमा महिला या बालबच्चा देख्यो भने त आक्रमण नै गर्न तम्सिन्छ’, पोखरेलले भने ।

गण्डकी विश्वविद्यालयको अनुसन्धान, अन्वेषण तथा आविष्कार केन्द्रका इन्जिनीयर सागरराज पौडेलले ‘ड्रोन’को प्रयोग गरेर बाँदर धपाउने प्रविधिको विकासका लागि आफूहरु अनुसन्धानमा जुटेको बताए । उक्त केन्द्रले राष्ट्रिय आविष्कार केन्द्रसँग मिलेर बाँदर धपाउने बन्दुक पनि बनाइसकेको उनको भनाइ छ ।

‘पिभिसी पाइप र कार्बाइडबाट बाँदर धपाउने बन्दुक बन्छ, तर अहिले बन्दुकको आवाजसँग पनि बाँदर तर्सन छोडेको किसानले बताउन थालेका छन्, यसमा पनि बाँदर अनुकूलन भइसकेको देखिन्छ’, इन्जिनियर पौडेलले भने ‘बाँदर नियन्त्रणका लागि अपनाइएका कुनैपनि विधि र प्रविधि दीर्घकालीन हुन सकेका छैनन् ।’

बाँदर तर्सेर भागोस् भनेर केन्द्रले बाघ, कुकुरलगायत जनावरको आवाजलाई ‘ड्रोन’बाट सुनाउन मिल्ने गरी प्रविधि र यन्त्र निर्माणको काम गरिरहेको उले बताए। वैज्ञानिक डा। महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनीयर रितेश देवसहित विश्वविद्यालयका इन्जिनीयर र प्राविधिक त्यसको अनुसन्धान तथा निर्माणका काममा तल्लिन छन् ।

इन्जिनियर पौडेलले केन्द्रले अहिले नै नयाँ आविष्कार गर्ने नभई भइरहेको प्रविधिमा नवीनता ल्याउन प्रयास गरिरहेको बताए । पछिल्लो समय राष्ट्रिय कृषि इन्जिनीयरिङ अनुसन्धान केन्द्रले पनि सोही प्रविधिको बाँदर धपाउने यन्त्र निर्माण गरेर बजारमा पुर्‍याएको छ । केन्द्रका इन्जिनियर प्रवेश यादवले बाँदर नियन्त्रणका लागि उक्त यन्त्र सफल देखिएपछि अहिले विभिन्न स्थानीय तहहरुबाट माग आइरहेको बताए ।

‘कार्बाइड र पानीबीच रसायनिक प्रतिक्रिया भई उत्पन्न हुने एसिटिलिन ग्यासमा लाइटरको सहायताले आगो लगाएपछि मेसिनबाट ठूलो आवाज निस्कने हुनाले बाँदरलाई तर्साएर भगाउन सकिन्छ’, उनले भने । यसअघि बनेका बाँदर धपाउने बन्दुकमा ‘पिभीसी’ पाइपको प्रयोग गरिएकामा केन्द्रले निर्माण गरिरहेको यन्त्रमा भने फलामको पाइप जडान गरिएको छ ।

केन्द्रले उक्त यन्त्रको मूल्य रु एक हजार आठ सय तोकेको इन्जिनीयर यादवले बताए । अरु यन्त्रको भन्दा सस्तो मूल्य, फलामको पाइप भएकाले बढी टिकाउने हुने र जमिनमा राखेर पड्काउन सकिने हुँदा किसानलाई सो यन्त्र बढी लाभदायी हुने केन्द्रले जनाएको छ । अहिले चलिरहेको यन्त्रको आवाजसँग पनि बाँदरले आफूलाई अनुकूलन गराएर नतर्सने स्थिति आएमा नयाँ प्रविधिबारे अनुसन्धान थालिने इन्जिनियर यादवले बताए ।

पोखरास्थित पशु सेवा तालिम केन्द्रका प्रमुख डा। गृष्म न्यौपानेले नेपालको मध्यपहाडी भूभागमा बाँदरको समस्या बिकराल रहेको बताए । ‘बाँदरको खानेभन्दा बढी बिगार्ने स्वभाव हुन्छ, छिनभरमै बाली सखाप पारिदिन्छ’, उनले भने, ‘किसानले बाली जोगाउन सुरक्षाका विधि अपनाए भने त्यसैबाट पाठ सिकेर प्रतिकुलतालाई अनुकूलतामा बदल्ने खुबी बाँदरले राख्छ ।’

परिवर्तनलाई ग्रहण गर्ने र त्यसमा सजिलै घुलमिल हुन सक्ने क्षमता मानिसपछि सबैभन्दा बढी बाँदरमा रहेको डा. न्यौपानेको भनाइ छ । वन जङ्गलबाट मानव बस्तीतिर सरेर सामाजिकीकरण हुन खोजिरहेको बाँदरलाई फेरी जङ्गलतिर फर्काउने काम सजिलो नभएको डा. न्यौपानेले बताए ।

प्रतिक्रिया