भारतमा मुद्रास्फितिको जोखिम कायमै : ब्याजदर यथास्थितिमा रहने

मुम्बई । भारतमा मुद्रास्फीतिको जोखिम र बलियो आर्थिक वृद्धि दुवैको सम्भावना रहेको बताउँदै केन्द्रीय बैङ्कले शुक्रबार लगातार सातौं पटक ब्याज दरमा कुनै परिवर्तन गरेको छैन ।
भारतीय रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले आफ्नो महत्त्वपूर्ण ‘पुनः खरिद् सम्झौता (रिपो रेट)’ ६.५० प्रतिशत कायम रहने बताएको छ । विश्वका प्रमुख केन्द्रीय बैंकहरूले यस वर्ष ब्याजदर कटौतीको सङ्केत दिएका छन् ।
भारतमा मुद्रास्फिति घट्दो क्रममा छ, तर अझै पनि आरबीआईको चार प्रतिशतको लक्ष्यभन्दा माथि छ । सरकारले देशका विभिन्न भागमा गर्मी बढ्ने र यसले खाद्यान्नको मूल्य वृद्धि हुने चेतावनी समेत दिएको छ । बलियो आर्थिक वृद्धिले पनि दर कटौतीको तत्काल आवश्यकतालाई कम गरेको छ ।
उत्पादन क्षेत्रमा वृद्धि भएसँगै भारतको अर्थतन्त्र डिसेम्बरमा पूरा भएको त्रैमासिकमा ८.४ प्रतिशतको दरले वृद्धि भएको छ । यसले विश्लेषकहरूको सामान्य पूर्वानुमानलाई गलत सावित गरिदिएको छ । आरबीआईका गभर्नर शक्तिकान्त दासले भने, आगामी दिनमा बलियो वृद्धिको सम्भावनाले मुद्रास्फीतिमा ध्यान केन्द्रित गर्न र चार प्रतिशतको लक्ष्यमा मुद्रास्फीतिलाई कायम गर्न नीतिगत बल प्रदान गरेको छ ।
प्रतिक्रिया