सोमबार, असार २३, २०८२

उपनिर्वाचन : नेतृत्व छान्न इलामका मतदाता उत्साहित

नेपालखोज २०८० चैत २६ गते ७:५०

इलाम । इलाम क्षेत्र नं २ का मतदाता आफ्नो जनप्रतिनिधि छान्न उत्साहित छन् । यहाँ आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदै छ । गत भदौ २५ गते यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधनभएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा २० उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् ।

इलाम नगरपालिका–८ महमाईका कुबेर राईलाई उपनिर्वाचनकोे चहलपहलले उत्साहित बनाएको छ । ‘सात महिनादेखि हामीले चियाको मूल्य, दुग्ध उत्पादनको बजार, मेची राजमार्गको अस्तव्यस्त अवस्थालगायत समस्या सङ्घीय संसदमा उठाउने जनप्रतिनिधि पाउन सकेका छैनौँ’, उनले भने, ‘हाम्रा समस्याको उठान गर्ने प्रतिनिधिको खोजीमा छौँ ।’

यस्तै सन्दकपुर गाउँपालिका–३ का विशाल ढकालले उपनिर्वाचनपछि सात महिनादेखि सङ्कलन गरेर राखेका गुनासा नयाँ नेतृत्वलाई सुनाएर समाधान माग्ने बताए । ‘अहिले घरघरमा आएर सबै उम्मेदवार भोट माग्दै थिए । हामी सबैलाई मत दिन्छौँ भनिरहेका छौँ । तर योग्य उम्मेदवारलाई इलामवासीले चुन्छन्,’ उनले भने, ‘हाम्रा गुनासा र समस्याका चाङ छन् । समाधान गर्न निर्वाचित प्रतिनिधिलाई दबाब दिन्छौँ ।’

फाकफोकथुम गाउँपालिका–४ का रघुनाथ भण्डारीले सडक, स्वास्थ्य, शिक्षा र कृषिमा परिवर्तन ल्याउन सक्ने उम्मेदवार छनोट गर्ने सोचमा रहेकोे बताए । ‘सडकको मर्मत छैन, कृषिमा अनुदान छैन, राम्रो अस्पताल र गुणस्तरीय शिक्षा पाउन सकेका छैनौँ । अब निर्वाचित हुने प्रतिनिधिले हाम्रा यी माग सम्बोधन गर्नुपर्छ ।’

प्रतिक्रिया