बिहीबार, असार १९, २०८२

निजी क्षेत्रसँगको सहकार्यबिना आर्थिक समृद्धि हासिल हुँदैनः मन्त्री भण्डारी

नेपालखोज २०८० चैत २८ गते १२:००

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रसँगको सहकार्यबिना मुलुकको आर्थिक समृद्धिको आकांक्षा पूरा हुन नसक्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घको ५८औँ वार्षिक साधारणसभा समारोहमा शुभकामना मन्तव्य दिँदै उनले देशको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान उच्च रहेको बताए । उनले सरकारले निजी क्षेत्रलाई साझेदारका रुपमा मात्र नहेरी प्रमुख हिस्सेदारकै रुपमा व्यवहार गर्ने पनि विश्वास दिलाए ।

मन्त्री भण्डारीले सरकारले नेपालमा उद्योग, व्यापार र लगानीको वातावरण सुधार गर्न आवश्यक नीतिगत, कानुनी तथा कार्यक्रमगत विषयलाई निजी क्षेत्रको सल्लाह, सुझाव तथा समन्वयका माध्यमबाट शीघ्र अगाडि बढाउन चाहेको उल्लेख गरे ।

‘आयात र विप्रेषणमा आधारित अर्थतन्त्रलाई उत्पादन तथा आन्तरिक आयमुखी अर्थतन्त्रमा रुपान्तरण गर्न प्रभावकारी नीति लिने, स्वदेशी उत्पादनको संरक्षण, निर्यातयोग्य एवं तुलनात्मक लाभका वस्तुको पहिचान र प्रतिस्पर्धात्मक क्षमता वृद्धि गरी व्यापार घाटा कम गर्ने जस्ता सरकारको लक्ष्य पूरा गर्न निजी क्षेत्रले गर्दै आएको साझेदारीप्रति म धन्यवाद दिन चाहन्छु’, उनले भने ।

मन्त्री भण्डारीले आगामी वैशाखमा हुन लागेको लगानी सम्मेलनलाई सफल पारी स्वदेशी तथा विदेशी लगानीलाई प्रवद्र्धनमार्फत अर्थतन्त्रलाई मजबूत बनाउन अहोरात्र खटिनुपर्ने बेला आएको बताए । उद्योग मन्त्रालयले लगानी सम्मेलनलाई सफल बनाउनका लागि निजी क्षेत्रसँगको सहकार्यमा सक्रिय भूमिका निभाउने उनले प्रतिबद्धता जनाए ।

उनले मन्त्रालयले लगानी सहजीकरण तथा प्रवद्र्धनमा बल पुग्ने गरी कानुनहरुको संशोधनको प्रक्रिया अगाडि बढाइसकेको जानकारी गराए ।

प्रतिक्रिया