सोमबार, असार १६, २०८२

बैतडीका तीन युवा आमरण अनशनमा

नेपालखोज २०७७ साउन २१ गते ७:४१

बैतडी । बैतडीको मेलौली नगरपालिका–२ सलेनामा तीन जना स्थानीय युवा मंगलवारदेखि आमरण अनशन बसेका छन् । वडा नं २ को कार्यालयले एकलौटी कामकारबाही गरेको भन्दै ५ बुँदे मागसहित स्थानीय विवेकानन्द पाण्डेय, योगेश चन्द र नारदप्रसाद भट्ट सलेनास्थित अस्थायी प्रहरी चौकी नजिक अनशन बसेका हुन् ।

वडाले जनताको चाहनाविपरीत विभिन्न गतिविधि गरेको, वडाअध्यक्षले मनपरी गर्नुका साथै स्थानीयको भावनाविपरीत काम गरेको उनीहरुको आरोप छ । वडाअध्यक्षको गलत अभिव्यक्ति, विद्युत् विस्तारमा लापरबाही, योजनाहरुमा अनियमितता र पहुँचका भरमा योजना छनोट गर्ने परिपाटीको अन्त्य हुनुपर्ने उनीहरुले माग राखेका छन् ।

यसअघि पनि सो वडामा विद्युत् विस्तारको माग गर्दै साउन १४ गते वडा कार्यालयमा तालाबन्दी गरिएको थियो । सोमबार लगाएको ताला बिनाजानकारी नै प्रहरीको रहोवरमा वडाअध्यक्षले तोडेको अनशन बसेका विवेकानन्द पाण्डेयले बताए। उनले भने– ‘वडाअध्यक्ष तथा सत्तारुढ नेकपाका स्थानीय नेताहरुले अपशब्द भाषा प्रयोग गर्दै गालीगलौज गरेकाले सोविरुद्ध अनशन बसेका हौं ।’

वडामा विद्युत् विस्तारलगायत अन्य माग पटक–पटक राख्दा वडाअध्यक्षले कुनै वास्ता नगरेको उनीहरूको गुनासो छ । आफूहरूले राखेको माग सम्बोधन नभएसम्म अनशन जारी राख्ने उनीहरुले बताएका छन् । सो बिषयमा अहिले छलफल भइरहेको भए पनि कुनै निष्कर्ष निस्केको छैन् ।

यसअघि बैतडीको मेलौली नगरपालिका–२ मा वडाअध्यक्ष र प्रहरीले ताला तोडेपछि तनाव उत्पन्न भएको थियो । हिजो साँझ वडा अध्यक्ष महेन्द्रबहादुर चन्दले प्रहरी प्रशासन बोलाएर ताला तोडेको भन्दै स्थानीयले राती नाराबाजी गर्दै वडाअध्यक्षमाथि हातपातको प्रयास गर्न खोजेपछि तनाव उत्पन्न भएको हो ।

प्रतिक्रिया