तराईको गर्मीमा पनि लटरम्म स्याउ

घोडाघोडी(कैलाली) । तराईको प्रचण्ड गर्मीमा स्याउ फल्यो भनेको सुुन्दा अचम्म लाग्नसक्छ, तर कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका एकजना किसानको बगैँचामा लटरम्म स्याउ फलेका छन् । चिसो हावापानी भएको ठाउँमा मात्रै स्याउखेती हुँदै आए पनि तराईको गर्मीमा किसान गोकर्ण ओलीले लटरम्म स्याउ फलाएको छ ।
किसान ओलीले फलाएको (हर्मन ९९) जातको स्याउ ४८ डिग्री सेल्सियस तापक्रम भएको ठाउँमा लगाउन सकिन्छ । उहाँले तीन बिघा जग्गामा व्यावसायिक रूपमा नै स्याउखेती गरेका छन् । कैलालीमा उहाँले पहिलोपटक व्यावसायिक रुपमा नै स्याउखेती गर्नुभएको छ ।
विसं २०७८ माघमा ओलीले भारतको हिमाचल प्रदेशको विलासपुरबाट स्याउका बिरुवा ल्याएर रोपेका हुन् । रोपेको एक वर्षमा नै सबै बोट फुलेका बताउँदै उनले भने, ‘अहिले फुुलेको स्याउलाई औषधि हालेर झारेको छुु, अघिल्लो वर्ष पनि परीक्षणका रूपमा २० बोटमा मात्र फलाएको थिएँ, अहिले पनि तीस–चालीस बोटमा मात्र फलाएको छु ।’
उनका अनुुसार बिरुवा लगाएको दुुई वर्ष पूरा भएको छ, अर्को वर्षदेखि एक बोटबाट आठदेखि १० किलोग्रामसम्म आम्दानी लिन सकिनेछ । बिरुवा लगाएको तीन वर्षपछि मात्रै आम्दानी गर्न सकिन्छ भने पॉच वर्षपछि भने एउटै बोटमा ५० देखि एक सय किलो ग्रामसम्म स्याउ फल्ने गर्दछ ।
तराईका क्षेत्रमा नौलो मानिएको स्याउखेतीका लागि हालसम्म ८० लाख लागत लागिसकेको ओलीले बताए । ओलीले स्याउसँगै अम्बा र बयर पनि रोपेका छन् । एक हजार दुुई सय स्याउ, पाँच सय अम्बा र एक सय बयर उनले लगाएका छन् ।
तराईमा पनि स्याउ फल्ने विषय इन्टरनेटका माध्यमबाट थाहा पाएको बताउँदै ओलीले भने, ‘कृषि निर्देशक यज्ञराज जोशीको सल्लाहले मैले यो खेती गर्ने हौसला पाएँ र मलाई काम गर्न सहयोग मिल्यो ।’
प्रतिक्रिया