बुधबार, जेठ १, २०८२

रोकिएन नदीजन्य पदार्थको अवैध उत्खनन

नेपालखोज २०८१ जेठ ३ गते १५:०५

राँझा (बाँके) । बाँकेको राप्ती नदीमा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन गर्नेक्रम रोकिएको छैन ।

राप्ती सोनारी गाउँपालिकाका विभिन्न घाटबाट नदीजन्य पदार्थको चोरी निकासी भइरहेको छ । नदीजन्य पदार्थको अवैध दोहनलाई नियन्त्रण गर्ने प्रयासस्वरुप जिल्ला प्रहरी कार्यालयले अवैधरुपमा उत्खननमा प्रयोग भएका स्काभेटर, टिपर र ट्याक्टर नियन्त्रणमा लिएको छ ।

दुई स्काभेटर, नौ टिपर र दुई ट्याक्टर नियन्त्रणमा लिइ एक लाख पाँच हजार जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन र चोरी निकासी भएको सूचनाका आधारमा प्रहरी परिचालन हुने गरेको उनको भनाइ छ ।

राप्ती सोनारीका वडा नं २, ४, ५, ६ र ९ मा पर्ने विभिन्न घाटबाट अवैधरुपमा उत्खनन र चोरी निकासी हुने गरेको छ । बेलाबखत अनुगमन टोली खटिए पनि अवैध उत्खनन रोकिएको छैन । अनुगमन टोली देख्नासाथ तस्करीमा संलग्नले भागभाग गर्ने गरे पनि केही समयपछि उत्खनन जारी राख्ने गरेको पाइएको जिल्ला समन्वय समितिका सदस्य शन्तकुमार थारुले बताए ।

क्रसर उद्योगले अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गर्दै आएको स्थानीयको गुनासो छ । नदीजन्य पदार्थ उत्खननको ठेक्का पाएका कम्पनीलेसमेत जथाभावीरुपमा नदीजन्य पदार्थको उत्खनन र पायकपर्ने स्थानमा भण्डारण गर्ने गरेका छन् । नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न गाउँपालिकाका प्रतिनिधि र कर्मचारीले राप्ती नदी र विभिन्न खोलाबाट हुनसक्ने नदीजन्य पदार्थको अवैध उत्खनन कार्य रोक्नका लागि क्रसर उद्योगको अनुगमन गर्ने गरेका छन् ।

नदीजन्य पदार्थको चोरी निकासी रोक्न जनप्रतिनिधिसहितको टोलीले क्रसर उद्योग र घाटगद्धीको निरीक्षण तथा अनुगमन गर्ने गरेको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताए । यस वर्ष गाउँपालिकाले नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का आह्वान गरी आठ करोड ६७ लाख ९६ हजार नौ सयमा ठेक्का सम्झौता गरेको छ ।

प्रतिक्रिया