शनिबार, असार २१, २०८२

राष्ट्र बैंकले गर्‍याे पाँचवटा रेमिट्यान्स कम्पनीको अनुमति खारेज

नेपालखोज २०८१ भदौ ७ गते १८:४४

काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँचवटा रेमिटेन्स कम्पनीको अनुमती खारेज गरेको छ । नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले शुक्रबार रेमिट्यान्स कम्पनीहरूको इजाजतपत्र स्वतः खारेज गर्ने सम्बन्धमा सुचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

राष्ट्र बैंकका अनुसार स्वत खारेज हुने रेमिट्यान्स कम्पनीहरुमा काठमाडौंको लाजिम्पाटमा कार्यालय रहेको राम्रो रेमिट, काठमाडौंकै गौशालामा रहेको ग्लोबल माउन्टेन रेमिट प्राली, काठमाडौंको दरबारमार्गमा कार्यालय रहेको संसार रेमिट प्राली, काठमाडौंको न्युरोडमा कार्यालय रहेको ललित मनी ट्रान्सफर प्राली र काठमाडौंको अनामनगरमा कार्यालय रहेको म्याक्स मनी ट्रान्सफर प्रालि रहेका छन् ।

नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ (प्रथम संसोधनसहित) को विनियम १३ को उप – विनियम (१०) को खण्ड (ङ) र सोही विनियमको उप–विनियम (११) को खण्ड (क) र (ग) बमोजिम स्वतः खारेज हुने देखिएकाले विप्रेषण कारोबारको सिलसिलामा यि कम्पनीहरुको अनुमती खारेज गरिएको राष्ट्र बैंकको भनाई छ ।

खारेज भएका यि कम्पनीहरूसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन (विप्रेषणसँग सम्बन्धित कारोबार मात्र) रकम बाँकी रहेको भए यो सूचना प्रकाशित भएको मितिले ३५ (पैंतीस) दिनभित्र यस विभागमा लिखितरूपमा जानकारी दिन नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ (प्रथम संसोधनसहित) को विनियम १३ को उप–विनियम (८) बमोजिम यो सूचना प्रकाशन गरिएको राष्ट्र बैंकको भनाई छ । उक्त तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा बैंक जमानत समेत फुकुवा भई जाने राष्ट्र बैंकले जनाएको छ ।

स्वतः खारेज भइजाने रेमिट्यान्स कम्पनीहरुसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन रकम तोकिएको अवधिभित्र दावी गरेमा मान्य अवधिको बैंक जमानतले खामेसम्मको रकम मात्र राष्ट्र बैंकले हिसाबमिलान गरिदिने राष्ट्र बैंकको भनाई छ ।

प्रतिक्रिया