सोमबार, वैशाख २९, २०८२

भयावह बन्दै प्रकाश प्रदूषण 

नेपालखोज २०८१ भदौ २६ गते १७:००

काठमाडाैं । प्रकाश प्रदूषण चराहरूका लागि काल नै मानिन्छ र यो पनि आधुनिक सभ्यताको एउटा खतरनाक दुष्परिणाम हो। हालैका दशकहरूमा जनसङ्ख्या वृद्धि, आर्थिक विकास एवं  प्रकाशको कम लागतले रात्रि कालिन आकाशमा कृत्रिम प्रकाशको चलन बढेको छ । कृत्रिम प्रकाशको चकाचौंध, चमक र अतिक्रमणका कारण यो प्रदूषणको स्रोत बन्दै गएको छ । 

कन्भेशन अन द कंन्जरभेशन अफ माइग्रेटरी स्पीसीज अफ वाइल्ड एनिमल (सीएमएस) की कार्यकारी सचिव एमी फ्रान्केलका अनुसार  “स्मारकहरुलाइ आकर्षण बनाउन, प्रचार र मनोरञ्जन बढाउन तथा सुरक्षाका लागि  कृत्रिम प्रकाश प्रयोग गरिन्छ तर यो प्रकाशले प्राकृतिक वातावरणमा नाटकीय रूपमा हस्तक्षेप गर्छ । 

उनी भन्छिन् – कृत्रिम प्रकाशले पारिस्थितिक प्रणालीमा प्रकाश र अन्धकारको प्राकृतिक ढाँचा लाई बदल्नु नै प्रकाश प्रदूषण हो। अहिले मानव बसोबास भएको सबै ठाउँमा कृत्रिम प्रकाश पुगेको छ । यसका मुख्य स्रोत सडक बत्ती, फ्लडलाइट, सवारी साधनको बत्ती, बिलबोर्ड, होर्डिङ आदि जस्ता बाह्य वा कृतिम प्रकाश  हुन् । 

जुन – २०२३ को साइन्स जर्नलमा  एन्टोनिया एम भरेला पेरेजको अध्ययन “व्यावसायिक र एमेच्योर एस्ट्रोनोमीमा प्रकाश प्रदूषणको बढ्दो प्रभाव” प्रकाशित भएको थियो जसमा भनिएको छ – विश्वको ८३ प्रतिशत जनसङ्ख्या प्रकाश-प्रदूषित आकाशमुनि बस्छ भने संसारको २३  प्रतिशत जमिन पनि प्रकाश-प्रदूषित छ । 

यो प्रदूषण हरेक वर्ष २ प्रतिशतको दरले बढ्दै गएको छ अर्थात् ३५ वर्षमा यस्तो प्रदूषण दोब्बर हुनेछ । सन् २०५० सम्ममा विश्वको जनसङ्ख्या ९ अर्ब ६ करोड पुग्ने प्रक्षेपण गरिएको छ जसमध्ये ६८ प्रतिशत जनसङ्ख्या सहरमा हुनेछ । हाल ७३ करोड ३३ लाख मानिसमा बिजुलीको पहुँच छैन भने अन्य २.४ अर्ब मानिस सफा खाना पकाउने इन्धन र प्रविधिको पहुँच बाहिर छन् । 

अध्ययन अनुसार जनसङ्ख्या वृद्धि तथा आर्थिक विकासको संयोजन यस्तै रहने हो भने प्रकाश प्रदूषणको स्तरमा द्रुत वृद्धि हुनेछ । अहिले रातको कृत्रिम प्रकाशले आकाशका  ताराहरूलाई ओझेलमा पार्दै  लगेको छ  जसका कारण ६० प्रतिशत युरोपेली तथा ८० प्रतिशत अमेरिकीले कहिल्यै आकाशगंगा ( मिल्की वे ) देख्न पाएका छैनन् । 

विगतका दुई दशकमा प्रकाश उत्सर्जक डायोड (LED) ले वातावरणलाई कृत्रिम प्रकाश प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । पेरेजको अध्ययन अनुसार, २०१० को दशकमा अन्य बत्तीलाई एलईडीले प्रतिस्थापन गरेको थियो । नयाँ प्रविधि एलईडि (LED ) को विश्वव्यापी हिस्सा २०१२ मा १ प्रतिशत बाट २०१९ मा ४७ प्रतिशत पुग्यो । 

अध्ययन अनुसार २०१७ र २०२२ को बिचमा एलईडीको बिक्रीको वार्षिक वृद्धि दर १८ प्रतिशत भन्दा बढी थियो भने २०२२ र २०२७ को बिचमा यो वृद्धि दर १५ प्रतिशत रहने अनुमान  छ । विज्ञहरूका अनुसार धेरै एलईडी बत्तीहरू अँध्यारो रातको आकाशलाई संरक्षित गर्ने मामिलामा उपयुक्त छैनन् किनभने तिनमा अनुपयुक्त रङ्ग र तापक्रम हुन्छ  जसले ठुलो मात्रामा निलो प्रकाश उत्सर्जन गर्दछ। 

यो प्रकाश आकाशमा छरिन्छ र यसले प्रकाश प्रदूषण निम्त्याउँछ।  अहिले प्रकाश प्रदूषणले पारिस्थितिक प्रणालीलाई यति धेरै असर गरिरहेको छ कि शताब्दीयौं देखि चल्दै आएको प्रकाश र अन्धकारको प्राकृतिक प्रणालीमै बाधा उत्पन्न हुन थालेको छ । यो बदलिँदो  प्राकृतिक प्रणालीमा  अनगिन्ती जीवले आफूलाई समायोजन गर्न सकेका छैनन् फलस्वरूप उनीहरू किलुप्तिको मुखमा पुगेका छन् ।

यसले पशु, चरा, बोटबिरुवा एवं  कीराहरूको दैनिक व्यवहार, कार्य तथा शरीर विज्ञानमा विशेष प्रभाव पारिरहेको अध्ययनहरू बाट पुष्टि भैसकेको छ ।

प्रतिक्रिया