लक्ष्य अनुसार उठ्दैन कर

बलेवा (बागलुङ) । हरेक कार्यालय, सङ्घसंस्थाले लक्ष्य राखेर काम गर्ने चलन छ । लक्ष्य अनुसार कामको प्रगति पनि हुनुपर्छ । तर आन्तरिक राजस्व कार्यालय बागलुङले पछिल्लो तीन वर्षदेखि नै लक्ष्य भेटाउन सकेको छैन । यद्यपि कर सङ्कलन भने उल्लेख्य रुपमा बढेको छ ।
हरेक आर्थिक वर्षमा लक्ष्यको ७९ देखि ८० प्रतिशत मात्रै कर सङ्कलन भएको छ । केहीवर्ष अघि शतप्रतिशतभन्दा धेरै कर सङ्कलन भएको थियो । आर्थिक वर्ष २०८०÷८१ म रु एक अर्ब २० करोड कर सङ्कलन गर्ने लक्ष्य राखेपनि असार मसान्तसम्म कार्यालयले लक्ष्य भेट्न सकेन ।
बरु ७९ प्रतिशत मात्रै अर्थात् तोकिएको अवधिमा कूल ९६ करोड ५५ लाख ७८ हजार मात्रै कर सङ्कलन भएको कार्यालय प्रमुख प्रमोदकुमार श्रीवास्तवले बताउनुभयो । साउन महिनामा आर्थिक कारोबार कम हुने भएकाले सङ्कलन घटेको छ । साउनमा रु एक करोड ९३ लाख संकलनको लक्ष्य राख्दा रु ९१ लाख रु ३५ हजार मात्रै सङ्कलन भएको प्रमुख श्रीवास्तवले बताए ।
आव २०७९÷८० मा कार्यालयले रु एक अर्ब पाँच करोड ५१ लाख राजस्व सङ्कलन गर्ने लक्ष बनाएकामा रु ९५ करोड ३१ लाख मात्रै सङ्कलन गर्न सकेको थियो ।
लक्ष्य अनुसार कर असुल हुन नसक्नुलाई आर्थिक क्षेत्रको मन्दी, सहकारीमा आम नागरिकको विश्वास घट्नु र लघुवित्तको कारोबारमा आएको कमीलाई औँल्याउने गरिएको छ । बागलुङको हकमा सिवाइसी लघुवित्तको पोखराबाट कारोबार हुँदा यहाँ सङ्कलन हुने लाखौँ रकम सरेको हो । त्यस्तै अन्य संस्थाको पनि केही रकम अन्य संस्थामा सरेको छ ।
प्रतिक्रिया