हवाई उडान तथा लामो दूरीका यातायात तत्काल नखोल्न मन्त्रिपरिषदमा सिफारिस
काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले आन्तरिक र बाह्य हवाई उडान तथा लामो दूरीका सार्वजनिक यातायात तत्काल नखोल्न सरकारलाई सिफारिस गरेको छ।
रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वमा केन्द्रको बैठक आइतबार साँझ बसेकोमा मन्त्रिपरिषद्को यसअघिको निर्णय पुनर्विचार गर्न सिफारिस गरेको हो। साउन ५ गतेको मन्त्रिपरिषद् बैठकले हवाई उडान, लामो दूरीका यातायात र विद्यालय भर्ना भदौ १ गतेबाट खोल्ने निर्णय गरेको थियो।
तर, लकडाउन खुलेसँगै कोरोना संक्रमित बढ्न थालेपछि सीसीएमसीले ती सेवा भदौ १ गतेबाट नखोल्न मन्त्रिपरिषदलाई सिफारिस गरेको हो।
सीसीएसीको सिफारिसलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेमा निर्णय कार्यान्वयन हुनेछ।
मन्त्रिपरिषदको बैठक भोलि सोमबार बस्दैछ। गत बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा। युवराज खतिवडाले हवाई उडान खोल्ने परिस्थिति बनिनसकेको र सीसीएमसीको सिफारिसमा सरकारले थप निर्णय गर्ने बताएका थिए।
प्रतिक्रिया