शनिबार, वैशाख १३, २०८२

आज विश्व पर्यटन दिवस…

सुनिल उलक २०८१ असोज ११ गते १२:१९

काठमाडाैं । हाम्रो संस्कृति नै अतिथि देवो भव: भन्ने मान्यतामा चलेको छ । हामी हाम्रा पाहुनालाई भगवान् सरह मान्दछौ । सन् १९८० बाट विश्वभर मनाउन थालिएको विश्व पर्यटन दिवस नेपालले पनि भव्यसँग मनाउने गर्दछ । 

नेपालमा पर्यटकको आगमन देशमा प्रजातन्त्र आएपछि नै बढ्न थालेको हो । पर्यटकको आगमन भए पनि राज्यले यसबाट फाइदा लिन भने सकेको थिएन । २०१६ सालमा पहिलो पटक नेपाल भ्रमणमा आकर्षित गर्नका लागि मेजर जे.एच. एलियटले गाइड टु नेपाल पुस्तक लेखे । यस पुस्तकमा पर्यटनसँग आबद्ध धेरैले विज्ञापन पनि छपाएका थिए । यस पुस्तकमा राजा महेन्द्रले पनि शुभकामना सन्देश दिएका थिए । 

नेपालमा पर्यटनले ब्यवसायिक विकास जति गरे पनि राष्ट्रिय अर्थतन्त्रमा भने ठुलो योगदान गरेको पाइँदैन । व्यक्तिगत रूपले पर्यटन व्यवसाय गर्ने सम्पन्न भए पनि देशको अर्थतन्त्रमा करिब ३ प्रतिशत मात्र योगदान पुर्‍याउने गरेको तथ्य छ। नेपालमा वार्षिक मुस्किलले १० लाख पर्यटक भित्राउन सकेको छ । जबकि छिमेकी मुलुकको ताजमहल हेर्न वर्षेनी ८० लाख भन्दा बढी पर्यटक पुग्ने गर्दछ । 

नेपालमा सडक यातायात सहज र विश्वसनीय छैन । निर्माणका योजना समयमा पुरा हुँदैनन् । विमानस्थलहरू साना साना झरीमा पनि उडान रोकिने खालका छन् । सरकारका नीतिले पर्यटकसँग तीन गुना भाडा असुल गरिन्छ । आम नेपाली र बेदेशीका लागि जहाजको भाडामा ठुलो भिन्नता छ । किन एक समान गर्न चाहन्न सरकार भन्ने स्पष्ट छैन । पर्यटकलाई लुट्नुपर्दछ भन्ने मनोभावना देशको अर्थतन्त्र चलाउने देखि साधारण होटेल व्यवसायी तथा ट्याक्सी ड्राइभरसम्ममा रहेको छ । नेपालमा पर्यटक बसाइ र उनीहरूले गर्ने सरदर खर्चमा पनि वृद्धि हुन सकेको छैन । दाल चामल देखि सम्पूर्ण सामग्री बोकेर आउने तथा होटेलमा टाउको गनेर सुत्ने भारतीय पर्यटकको जगजगी छ । यी भारतीयले नेपालको एक हप्ताको बसाइमा प्रति व्यक्ति २० डलर पनि खर्च गर्दैनन् । 

जबसम्म स्तरीय पर्यटकको आगमनको लक्ष राखिँदैन र विदेशी पर्यटक माथि समान व्यवहार गरिँदैन । नेपालमा पर्यटनले अर्थतन्त्रमा ठुलो राहत दिँदैन ।

प्रतिक्रिया