युक्रेन युद्धबारे ट्रम्पले र जेलेन्स्कीबीच भेटवार्ता हुने

न्यूयोर्क । रूससँगको द्वन्द्वलाई लिएर अमेरिकी रिपब्लिकन नेता तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको युक्रेनविरूद्ध निरन्तरको आलोचनापछि ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच शुक्रबार भेटवार्ता हुने भएको छ ।
जेलेन्स्कीले एक दिनअघि पहिले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ट्रम्पका प्रतिद्वन्द्वी कमला ह्यारिस र राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता भएको थियो । नेताद्वयले किएभको युद्धलाई समर्थन गर्ने वचन दिएका थिए।
जेलेन्स्कीले द्वन्द्व अन्त्यका लागि ‘सम्झौता गर्न नमानेको’ आरोप लगाएका ट्रम्पले न्युयोर्कस्थित ट्रम्प टावरको गगनचुम्बी भवनमा स्थानीय समयअनुसार शुक्रबार बिहान ९ः४५ बजे भेट हुने बताएका छन् ।
जेलेन्स्कीले न्युयोर्कर पत्रिकालाई दिएको टिप्पणीबाट ट्रम्प रुष्ट भएपछि अमेरिकी सञ्चारमाध्यमले यसअघि नै उक्त बैठक अघि नबढ्ने बताएका थिए। जेलेन्स्किीले उक्त पत्रिकासँग युद्ध कसरी रोक्ने भन्नेबारे रिपब्लिकन पार्टीलाई वास्तविक ज्ञान नभएको बताएका थिए ।
ट्रम्पले बुधबार नर्थ क्यारोलिनामा आयोजित चुनावी र्यालीलाई सम्बोधन गर्दै भनेका थिए, ‘सम्झौता गर्न इन्कार गर्ने व्यक्ति जेलेन्स्कीलाई हामी अरबौं डलर दिइरहेका छौं ।’
जेलेन्स्की यसै साता न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा हुन् । उनले मस्कोको आक्रमणको तेस्रो वर्षमा युद्धभूमिमा सङ्घर्ष गरिरहेको आफ्नो देशको युद्धको लागि समर्थन सहयोग बढाउने अभियानलाई जारी राखेका छन् ।
युक्रेनी नेताले बिहीबार ह्वाइट हाउसमा बाइडेन र ह्यारिससमक्ष उनकै शब्दमा ‘विजय’ योजना प्रस्तुत गरेका थिए भने बाइडेनले किएभका लागि करिब आठ अर्ब अमेरिकी डलर बराबरको नयाँ सैन्य सहायता प्याकेजको घोषणा गरेका थिए ।
सहायता प्याकेजको घोषणाका समय जेलेन्स्कीको छेउमा उभिएकी ह्यारिसले नाम उच्चारण नगरिकन ट्रम्पलाई सङ्केत गर्दै भने, ‘मेरो देशमा केही यस्ता व्यक्ति छन् जसले युक्रेनलाई आफ्नो सार्वभौम भूमिको ठूलो हिस्सा छोड्न बाध्य पार्नेछन्।’
प्रतिक्रिया