मंगलबार, असार १७, २०८२

सर्लाहीमा पुनः लकडाउन

नेपालखोज २०७७ साउन २७ गते ७:४८

सर्लाही । समुदायमा नै कोरोना भाइरस कोभिड–१९ को संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले सोमबारदेखि ७ दिनका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

कोरोना भाइरस कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्लास्तरीय सीसीएमसीको आइतबार मलंगवामा बसेको बैठकले जिल्लाभर एक साताका लागि निषाधाज्ञा जारी गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । स्थानीय प्रशासनले अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्कन निषेध गरेको छ ।

सीसीएमसीको भौतिक दूरी कायम गर्दै मास्क लागाएर, स्वास्थ्य, विद्युत्, दूर सञ्चार, खानेपानी, दूध, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि, खाद्यान्न, तरकारी, पशुपक्षीको दाना र कृषिकार्यबाहेकका अन्य बैंक तथा वित्तीय संस्थाबाट हाल हुँदै आएका सबै खाले सेवा तत्कालका लागि बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पौडेल जनाए ।

पीसीआर बिधिबाट कोरोनाको परीक्षण गर्दा जिल्लाका ठूला व्यापारिक केन्द्रका बरहथवा, मलंगवा, ईश्वरपुर, लालबन्दीलगायतका जनप्रतिनिधि, सञ्चारकर्मी, राष्ट्रसेवक कर्मचारी, स्वास्थ्यकर्मी र बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा कोरोना संक्रमण पाइएकाले निषेधाज्ञा जारी गरेको हो ।

समुदायमा कोरोना संक्रमण फैलिसकेको भन्दै स्थानीय प्रशासनले संक्रामक रोग निवारण ऐन–२०२८ को दफा ६ (३) तथा ऐन–२०२० लागू गरी निषेधाज्ञा जारी गरेको बताएको छ ।

प्रतिक्रिया