शनिबार, असार २१, २०८२

तलेजु भवानीमा गतवर्षको तुलनामा दर्शनार्थी घटे

नेपालखोज २०८१ असोज २५ गते १८:००

काठमाडौं । तलेजु भवानी मन्दिर वर्षको एक दिन बडादसैँको महानवमीमा मात्र सर्वसाधारणका लागि खुला गरिन्छ । त्यसैले महानवमीको दिन उक्त मन्दिरमा दर्शनार्थीको निकै घुइँचो लाग्ने गर्दथ्यो ।

हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु मन्दिरमा यो वर्ष भने दर्शनार्थीको घुइँचो गतवर्षको तुलनामा कम देखिएको छ । काठमाडौँ महानगरपालिका–२४ का वडा अध्यक्ष विनोदकुमार राजभण्डारीले यो वर्ष दर्शनार्थीको सङ्ख्या घटेको बताए ।

उक्त मन्दिर सोही वडामा पर्छ । उनकाअनुसार अघिल्लो वर्ष एक दिनमा पाँच लाख हाराहारीमा भक्तजनले दर्शन गरेका थिए । वडा अध्यक्ष राजभण्डारीले भने, ‘यसपटक तिथी फरक परेका कारण दर्शनार्थी त्यति छैनन्, पोहोर साल भक्तजनको लाइन इन्द्रचोकसम्मै थियो । आज मखन टोलसम्म मात्र छ ।’

तलेजु भवानीलाई फूलपातीको दिनमा हनुमान ढोका दरबारको मूलचोकमा ल्याइन्छ र विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइन्छ ।

राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले महाअष्टमीको राती तान्त्रिक विधिबाट कालरात्री पूजा गर्ने परम्परा छ । कालरात्री पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत् दिने चलन छ । तलेजु भवानीमा मात्र नभइ आज मुलुकभरका शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

प्रतिक्रिया