आज गिद्धे एकादशी (पापांकुशा एकादशी)

नाम नै गिद्धसँग गाँसेर राखिए पछि एकादशी भए तापनि मासु् खान सकिने भन्ने सहजै बुझ्न सकिन्छ । तर यो नाम भने पछि राखिएको हो । खास नाम भने पापांकुशा एकादशी हो । वैष्णव धर्मालम्वीहरुका लागि यस दिन बसिने ब्रत सबैभन्दा ठूलो ब्रतका रुपमा लिने गर्दछन् । यस दिन गरिने ब्रतले जानी नजानी गरिएका पापहरुमा अंकुश लगाएर मुक्त गरिदिने हुँदा यस दिनलाई पापांकुशा एकादशी भनिएको हो ।
चन्द्रमास अनुसार १२ महिनामा २४ एकादशी पर्दछ । जसका नामहरु यस प्रकारका छन् । बैशाखका वरूथिनी र मोहिनी, जेठका अपरा र निर्जला, असारका योगिनी र देवशयनी, साउनका कामिका र पुत्रदा, भदौका अजा र परिवर्तिनी, असोजका इंदिरा र पापांकुशा, कार्तिकका रमा र देव प्रबोधिनी, मंसिरका उत्पन्ना र मोक्षदा, पुसका सफला र पुत्रदा, माघका षटतिला र जया, फागुनका विजया र आमलकी र चैतका पापमोचिनी र कामदा एकादशी हुन् । तर तीन वर्षको एक पटक हुने अधिक मासमा दुइ एकादशी थपिने गर्दछ । जसका नाम पद्मिनी र परमा एकादशी राखिएको छ ।
बिभिन्न एकादशीका बिभिन्न बिशेषताहरु छन् । हिन्दु आख्यानका अनुसार एकादशीका दिन माछा मासु जस्ता भोजन गर्न परहेज गरि पूर्णरुपमा सात्विक भोजन गर्ने भनिएको हुन्छ । तर दशैको नवरात्र पछि आउने एकादशीको समय भने घरमा माछा मासु भित्रिसकेको हुन्छ । जसले गर्दा यस दिन मासु वर्जित गर्न सकिदैन । तसर्थ यस एकादशीमा गिद्धले झै मासु खान हुने अर्थात माछा मासु खान हुने छुट बनाइएको छ ।
हुन त यस एकादशीलाई पापांकुशा एकादशी भनेर यस दिन ब्रत बस्नेको सम्पूर्ण पाप नाश हुने भन्ने मान्यता पनि रहेको छ । महाभारतमा युधिष्ठिरलाई कृष्णले यस एकादशीको बारेमा वर्णन गर्दै यस दिन ब्रत बस्नेको सम्पूर्ण पाप नाश हुने बताएका छन् । त्यसै गरि रामायणका अनुसार रामले रावण लगायत लङ्काका असंख्य सेनाको हत्या गरेपछि सो पापमोचन गर्न यहि एकादशीका दिन रामलक्ष्मण सहित अयोध्याका सेना तथा हनुमान लगायतका आफूलाई सहयोग गर्ने बाँदर सेनालाई पनि ब्रत बस्न लगाएका थिए । यसरी ब्रम्हहत्याको दोषबाट मुक्ति पाएका थिए भनेर लेखिएको छ । जसले गर्दा यस दिन मासु सहितको तामसिक भोजन गरेमा अर्को जन्ममा गिद्ध भएर जन्म लिनु पर्ने भनेर ब्याख्या गर्दछन् ।
खैर अहिले त एकादशी तथा औंसीहरुमा सात्विक भोजन गर्नेहरु पनि घटिसके । एकादशी तथा औंसीमा मासुजन्य पदार्थ बिक्रि गर्ने पसलहरु बन्द गर्ने नियम पनि हराइसक्यो । बजारमा जुन सुकै दिन पनि यस प्रकारको खाद्य पदार्थको सहज खरिद गर्न सकिन्छ ।
असं चाल
यस एकादशीको महत्व काठमाडौ असनवासीको भने भिन्न छ । करिव १२०० वर्ष अगाडि देखि ब्यापारिक थलोका रुपमा प्रख्यात असनका ब्यापारीहरुले भने दशैंको दशमीका दिन ब्यापारमा नै लागेर एकादशीका दिन टीका लगाउने गर्दछन् । साथै नवमीमा पूजा गरेर स्थापना गरिएको हातहतियार तथा अन्य सामग्री चालं ९निकाल्ने० हुँदा यस दिनलाई भिन्न रुपमा असं चाल भन्ने गरिन्छ ।
असनका रैथाने तुलाधर, शाक्य तथा बज्राचार्यहरुले दशमीका दिन टीका नलगाएर एकादशीका दिन टीका लगाउने गर्दछन् । असं चालका नामले छुट्टै पहिचान पनि बनाएको छ । यसदिन बिहान पाया ९खड्ग जात्रा० निकालेपछि मात्र टीका लगाउने प्रचलन रहेको छ । यसरी भोलिपल्ट मात्र पाया निकाल्नुका पछाडि बिभिन्न किंवदन्तीहरु छन् ।
पहिलो कारण ब्यापारीहरु मात्र भएको स्थान भएको र ब्यापारको केन्द्रविन्दू नै भएको हुँदा दशमीका दिन ब्यापारमा ब्यस्त रहेर भोलिपल्ट फुर्सदमा मनाउन थालेको भन्ने गरिन्छ । यसमा भने सत्यता नहुन सक्छ ।
दोश्रो कारणमा सम्राट अशोकले स्थापना गरेको शहर अशोकमण्डप नै आजको असन हो भन्ने गरिन्छ । विश्व विजय गर्ने सपना बोकेर हिडेका सम्राट अशोकले जब कलिङ्ग युद्धमा हजारौको मृत्यु भएको देखे पश्चाताप गर्न थाले । यसै समय बालक भिक्षु निग्रोथले बौद्ध धर्मको दिक्षा दिए । यसरी बौद्ध धर्मबाट प्रभावित भएका सम्राट अशोकले आश्विन शुक्ल दशमीका दिन हतियार त्याग गरेर प्राणी हिंसा नगर्ने कसम खाएका थिए ।
तर उपत्यकामा रहेको बिभिन्न समाज तथा राजाहरुले पनि नवरात्रीमा शक्ति संचय गर्ने र प्रदर्शन गर्नका लागि बलि दिने गर्दथे । असनमा पनि यो आह्वान आएपछि असनका जनताले विरोध गरे । सम्राट अशोकले स्थापना गरेको तथा सम्राट अशोकले नै दशमीका दिन हतियार त्याग गरि हिंसा समेत नगर्ने घोषणा गरेको दिन हामी हत्या गर्ने र हतियार बोकेर हिड्दैनौ भनेपछि भोलिपल्ट एकादशीका दिन गर्न छुट दिइएको थियो भन्ने गरिन्छ । तसर्थ सो समय देखि नै असनका केही समुदायले अन्यले दशमीका दिन गर्ने जात्रा तथा उत्सव एकादशीका दिन गर्न थालेको विश्वास गरिन्छ ।
प्रतिक्रिया