शनिबार, वैशाख १३, २०८२

लैनसिंह बाङ्देलको पूण्यतिथिमा बाङ्देललाई सम्झँदा 

सुनिल उलक २०८१ असोज २९ गते १२:३३

काठमाडाैं । बि.सं. १९८१ को पुस ६ गते दार्जिलिङमा रङ्गलाल बाङ्देलका छोराका रुपमा जन्मनु भएका लैनसिंह बाङ्देलको पुर्ख्यौली थलो भने खोटाङ जिल्लाको रावा खोला नजिकैको बाङ्देल गाउँ थियो । बुबा रङ्गलाल पढ्नका लागि दार्जिलिङ पुगेका थिए, उतै चियाबगानका काममा नै रमे । उनको चित्रकारीता प्रतिको मोह सानैमा देखिएको थियो । त्यसैले सानैमा घरका भित्ता होस वा बाटोमा होस चित्र कोरेर बस्दथे । अन्य बच्चाहरु झै उनले पनि पढ्नका लागि बिद्यालयमा गए । २० वर्षको उमेरमा कला सम्बन्धी उच्च शिक्षाका लागि कलकत्तामा पुगे । कलकत्तामा अध्ययनकै क्रममा सत्यजित रायसंग भेटेका थिए । 

बि.सं. २००८ सालमा उनले कलकत्तामा भएको कला र उद्योग नामक चित्रकला प्रदर्शनीमा आफ्नो चित्र पनि प्रदर्शन गरेका थिए। जहाँ उनले थुप्रै पुरस्कार हात पारे । २००८ सालकै चैत ११ गते लण्डन पुगेका थिए । यसपछि कला सम्बन्धी उच्च अध्ययनका लागि पेरिस पुगे । पेरिस प्रवासकै समय २०१० बैशाख १९ गते पेरिसमा नै मानकुमारी क्षेत्रीसँग प्रेम विवाह गरेका थिए । २०१४ सालमा पहिलो कला प्रदर्शनी पेरिसमा गर्ने मौका पाए । यसपछि जर्मनीको स्टुटगार्डमा पनि कला प्रदर्शनी गर्न पाए। उनको कला निख्रदै गयो । पेरिस पछि लण्डन पुगे । कलाको राजधानीका रुपमा चिनिने पेरिस र लण्डनको अध्ययन र कला संग्रहालयको भ्रमणले उनको कलामा अमुर्त कलाको गहिरो छाप बस्यो । लण्डनमा रहँदै राजा महेन्द्रको भ्रमणमा भेट भए पछि राजा महेन्द्रले नेपालमा आएर केही गर्न सुझाए ।

२०१७ साल माघ २१ मा काठमाडौँ आइपुगे पछि नेपाल र नेपालीको माया बढ्न थाल्यो । राजा महेन्द्रले राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको सदस्य नियुक्त गरेपछि उनको काम अझ बढ्न थाल्यो । कलाका साथ साथ साहित्य तर्फ पनि झुकाव रहेका बाङ्देलको मुलुक बाहिर, माइतीघर, लङ्गडाको साथी, रेम्ब्रान्ट तथा यात्रा संस्मरणमा स्पेनको सम्झना, यूरोपको चिट्ठी निकै चर्चित छन् । उनकै कृति The Stolen Images of Nepal ले नेपालबाट चोरी भएर बिदेशी संग्रहालयमा सजिएको वर्णनले हाम्रो अमूल्य तथा संस्कृतिका पूजक मुर्तिहरु बिदेशीएको चर्चा विश्वभर फैलिएको थियो । तर पनि नेपालको सरकारको अकर्मण्यताले ति बिदेशीएका मुर्तिहरु स्वदेश फर्काउन कुनै पहल नै गरिएन ।

नेपालमा रहँदा देशको अमूल्य सेवा गरेबापत विभिन्न पुरस्कार तथा सम्मानहरू पाउनु भएको थियो । वहाँको २०५९ असोज २९ गते ललितपुर सानेपामा आफ्नै निवासमा देहावसान भएको थियो । 

त्यो समयको सेल्फीमा वहाँ र वहाँकी श्रीमती मानकुमारी क्षेत्री ।

प्रतिक्रिया