सेयर बजारमा लगानीबारे सचेतना प्रदान
नवलपुर (नवलपरासी) । विश्व लगानी सप्ताह–२०२४ को अवसर पारेर नेपाल धितोपत्र बोर्ड र जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपुरले लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम गरेका छन् । नेप्से ब्रोकर सनी सक्युरिटिज लिमिटेडसँगको सहकार्यमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आयोजित कार्यक्रममा शेयर बजारमा सुरक्षित लगानी गर्न कसरी गर्ने भन्नेबारे शिक्षा प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका निर्देशक विनोद पौडेलले बजारको अनियन्त्रित गतिविधिलाई बोर्डले नियन्त्रण गर्ने बताए । उहाँले व्यवसायको प्रवद्र्धन र लगानीकर्ताको हित संरक्षण गर्नु आफूहरूको दायित्व भएको बताए । ‘लगानीकर्ताको हित संरक्षण गर्दै बजारमा पुँजी वृद्धि गर्ने हाम्रो उद्देश्य हो’, उनले भने, ‘लगानीकर्ताले शेयर लगानी गर्दा बुझेर तथा गहन अध्ययन गरेर लगानी गर्दा ठगिने सम्भावना रहँदैन ।’
कुनै व्यक्तिले ठगी गरिरहेको भए नेपाल धितोपत्र बोर्डमा उजुरी गर्न आग्रह गर्दै उनले त्यस्ता व्यक्तिलाई कारबाहीको दायरामा ल्याइने बताए । ब्रोकरहरूले समेत आफ्नो दायित्व निर्वाह नगरेको गुनासो आउने गरेको भन्दै शेयर खरिद बिक्रीको रकम तत्काल भुक्तानी गर्न उनले निर्देशन दिए ।
प्रतिक्रिया