ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता बुझ्नकै सास्ती

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकावासी ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता बुझ्नकै सास्ती खेप्नु परेको छ । दसैँमा भत्ता नपाएका उनीहरुलाई तिहारका बेला नगरपालिकाले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतको भत्ताको रकम उपलव्ध गराएको हो ।
वडा कार्यालयमार्फत ज्येष्ठ नागरिकलाई प्रदान गरिँदै आएको भत्ताको रकम ज्येष्ठ नागरिकले टाढाको बैङ्क पुगेर बुझ्नु परेको गुनासो गरेका छन् । शुक्लाफाँटा–८ का ८० वर्षीय विरु साउदले बैङ्कमा लाइनमा बसेर भत्ताको रकम बुझ्नु परेको गुनासो गरे ।
‘तीन सय रुपैंया अटो भाडा तिरेर बैङ्कमा पुग्यौँ,’ उनले भने, ‘निकै भीड हुँदा लाइनमा बस्नु पर्यो, यसअघि वडा कार्यालयमा लाइनमा नबसीकनै भत्ताको रकम पाइन्थ्यो, अहिले निकै अप्ठेरो भयो ।’ भत्ताको रकम बुझ्नका लागि अटो भाडा छिमेकीसँग सापटी मागेर बैङ्कसम्म पुगेका ८५ वर्षीय शेरबहादुर साउदले ज्येष्ठ नागरिकलाई सहज रुपमा सेवा दिनुपर्नेमा उल्टो सास्ती दिने कार्य गरिएको बताए ।
‘घरदैलोमै सेवा दिन्छौँ भन्थे, ज्येष्ठ नागरिकलाई सम्मान गर्छौं भन्थे’, उनले भने, ‘केही वर्ष वडामै भत्ता बुझ्ने व्यवस्था गरे पनि एका एक अहिले चाडपर्वका बेला तीन सय बढी भाडा तिरेर भत्ता बुझ्न बाध्य पारे ।’ सबैभन्दा बढी सास्ती भत्ता बुझ्नका लागि अपाङ्गता भएका व्यक्तिहरुले खेप्नु परेको छ । ह्विल चेयरमा समेत बस्न नसक्ने अपाङ्गता भएका व्यक्तिहरुलाई घरका सदस्यहरुले बोकेर भत्ता बुझ्नका लागि बैङ्कसम्म पुर्याएका छन् ।
वडामा पुगेर भत्ताको रकम नदिने भएपछि बोकेर बैङ्कसम्म ल्याउनु परेको अपाङ्गता भएका व्यक्तिहरुको भनाइ थियो । नगरपालिका–११ मा भने बैङ्कले टोलटोलमा पुगेर भत्ताको रकम वितरण गरे पनि अन्य वडाका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरुले बैङ्कसम्म नै धाउनु परेको थियो ।
प्रतिक्रिया