भोट युद्धको तक्माको कथा

दुइ वर्ष अगाडि एउटा तक्माको कथा लेखेको थिएँ । त्यो कथामा जङ्गबहादुरले भोट युद्धमा नेपालको विजय पछि केवल तत्कालिन गोरखा सरकारको लागि मात्र होइन भोटमा युद्धबन्दीका रुपमा रहेका ५६ काश्मिरको खालसा सैनिकहरुलाई पनि मुक्त गराएर प्रत्येकमा नेपालको सम्झना रहिरहोस भनेर राजा सुरेन्द्रको नामांकित तक्मा दिइएको थियो ।
राजा सुरेन्द्र विक्रम शाह तथा श्री जंगबहादुर राणा महाराजाको आदेशमा १५ वर्ष देखि तिब्बती कैदमा रहेका जम्मुका खालसा सिपाहीहरूलाई संवत् १९१२ (सन् १८५५/५६) को भोटसँगको युद्धमा मुक्त गराएका थिए ।
यसले के देखाउँछ भने जंगबहादुरको शासनकालमा केवल नेपाल र नेपालीहरुको लागि मात्र होइन कैदमा रहेका पंजावका सेनाहरुको लागि पनि महत्वपूर्ण कार्य गरेका थिए । करिव १५ वर्ष देखि तिब्बती सेनाको अधिनमा कैदमा रहेका १४० खालसा सैनिकहरुको रिहाइ गराएका थिए । जसमध्य ३४ त्यहिको महिलासंग विवाह गरि घरजम गरिसकेको हुँदा दक्षिण तिब्बतमा नै बस्न चाहेका थिए ।
ति मध्य नेपाल सुपुर्दगी गराएका १०६ युद्धबन्दीमा केवल ५६ ले मात्र जम्मु फर्कने इच्छा ब्यक्त गरेपछि राजा सुरेन्द्र तथा श्री ३ जङ्गबहादुरले तक्मा पहिराइ बिदाइ गरेका थिए । बाकी रहेका ५० युद्धबन्दीमा ५ को काठमाडौ बसाइमा नै निधन भएको थियो भने ४५ जनाले तिब्बत फर्कने इच्छा गरेका हुँदा तिब्बत नै फर्कने अनुमति दिइएको थियो । जम्मु फर्केका एक युद्धबन्दीले भने आफ्नो साथ तिब्बती श्रीमती र एक छोरालाई पनि लैजान अनुमति पाएका थिए ।
त्यो तक्माकै समयमा दिइएको यो अर्को तक्माको कथा भने केही भिन्न छ । तक्माको कथा अगाडि नेपाल भोट युद्धको इतिहास बुझौ ।
नेपाल भोट युद्ध
वि.सं. १९०९ साउनको अन्त तिर जङ्गबहादुरले लेफ्टिनेन्ट भीमसेन कुँवरको नेतृत्वमा एक प्रतिनिधी मण्डल चीन पठाएका थिए । नयाँ सम्राट होङ झियाउक्विनको कार्यकाल सफल रहोस भन्ने शुभकामना तथा चीन नेपाल सम्बन्ध दरिलो बनाउने उद्धेश्य सहित गएको सो टोली पेकिङको लागि गएको सो टोलीको बारेमा कुनै पनि जानकारी जङ्गले करिव २ वर्षसम्म पाएनन् । सामान्य रुपले ८ महिनामा फर्कनु पर्ने सो टोली नफर्कदा चिन्तित रहेकै समय अचानक टोलीका प्रमुख भीमसेन कुँवर मात्र फर्किए । उनको जानकारी अनुसार बाटोमा तिब्बतीहरुले सामान लुट्नुको साथै अन्य सदस्यक हत्या गरिदिएको जानकारी पनि दिए । उनको हातमा चीनका सम्राटको सन्देश भएको हुँदा उनलाई जीवित फर्कन दिइएको भन्ने जानकारीको साथ उनले भोटमा रहेका नेपालीलाई पनि यसरी नै लुटपाट तथा हत्या गर्ने गरेको जानकारी पनि दिए ।
यसरी आफ्नो प्रतिनिधी मण्डलको हत्या र लुटपाटको साथै भोटमा रहेका नेपाली माथि पनि अत्याचार भएको सुनेका जङ्गले तत्कालै भोट माथि आक्रमण गर्ने तैयारी गरे । जङ्गले युद्धकै लागि भनेर १४००० पैदल सेना, १२०० घोडचढी सेना नयाँ भर्ना गरेका थिए । साथै ८० वटा बाह्र पाउण्डर टोप, २४ वटा ६ पाउण्डर टोप, साथै मोर्टार र हाउइट्जर गन पनि काठमाडौमा नै ढाल्न लगाएका थिए । गोला वारुद लगायत युद्धको लागि आबश्यक जंगी सामाग्रीहरु तैयार बनाउन कालीगढहरु तैयार बनाएर राखे । भोटमा अत्यधिक जाडो हुने हुँदा जाडोको लागि भनेर बक्खु, दोचा र भोटे टोपीहरु पनि हजारौ बनाउन लगाए । यसको साथै सेना तथा अन्य सहयोगीहरुको लागि आबश्यक राशनपानीको ब्यबस्था तराइका जमिन्दारहरुलाई गर्न लगाए ।
वि.सं. १९११ फागुन १४ गते जङ्गबहादुरका छोरा जीतजङ्गको राजा सुरेन्द्रको छोरी नरेन्द्रलक्ष्मीसंग भएको विवाह समारोहमा भाग लिन भोटको प्रतिनिधीमण्डल काठमाडौ आइपुगेको थियो । यहि अवसरमा भोटका प्रतिनिधीमण्डललाई देखाउने गरि जङ्गबहादुरले सैनिक परेद गराए । जसमा भोटे लुगा लगाएका २८ हजार पैदल सैनिक, १६०० घोडचढी सैनिक, ६० वटा १२ पाउण्डर टोप, ३५ वटा ६ पाउण्डर टोप, सयौ मोर्टार गन तथा हाउइट्जर गनको प्रदर्शन गराएका थिए ।
भोटका प्रतिनिधी सामु जङ्गले युद्ध तैयारीमा लागेको खर्च तथा भोटमा भएको लुटपाटको समेत गरेर एक करोड नेपाली रुपैयाँ क्षतिपूर्ति दिएमा युद्ध रोकी सन्धि गर्न तैयार रहेको जानकारी गराए । अन्यथा युद्ध शुरु हुने र तैयारीमा रहन समेत सचेत गराए । तर ति प्रतिनिधीमण्डलले भोटमा लुटिएको मुल्यांकन बराबर केवल ५ लाख मात्र दिन सकिने जानकारी गराए पछि जङ्गले युद्धको घोषणा गरे ।
वि.सं. १९११ फागुन २४ गते थापाथलीमा सैनिक कमाण्डरहरुलाई भेला गरि जङ्गबहादुरले सम्बोधन गरे । उनले सैनिकहरु सामु जोशका साथ भने, बहादुर सैनिक जवानहरु हो । भोटेले हामीलाई हेला गर्यो । हाम्रो तागतलाई कम ठहर्यायो । हाम्रो देशवासीहरुको धनसम्पति लुटेर केहीको हत्या समेत गर्यो । हाम्रो यो बेइज्जती सही बसेमा तिनीहरुले अरु अत्याचार गर्ने साहस गर्नेछन् । तसर्थ हाम्रा देशवासीहरुमा पनि कति शक्ति छ भन्ने कुरा तिनले बुझ्न भन्न खातिर र हाम्रो देशको इज्जत नगरी हेला गरेको हुँदा तिनलाई बदला लिनका खातिर म तिमीहरुलाई युद्धमा खटाउँदैछु ।’ भन्दै बडो जोशका साथ युद्धका लागि बिदा गरे ।
झण्डै एक वर्ष लामो लडाइमा भोट तर्फको ठूलो क्षतिको साथै हार भए पछि वि.सं. १९१२ को पुसमा सन्धिको प्रस्ताव लिएर भोटको प्रतिनिधीमण्डल काठमाडौ आइपुग्यो । एक वर्ष लामो नेपाल भोट युद्धमा नेपाली सेना तर्फ अफिसर र जवान गरि करिव ३५०० को मृत्यु भयो । भोटे तर्फ करिव ७ हजार सैनिकको मृत्यु भयो । भोट तर्फबाट सन्धिको प्रस्ताव आएको र नेपाल सरकारको ढुकुटी पनि युद्धका कारण रित्तिन थालेको हुँदा जङ्गबहादुर पनि उपयुक्त प्रस्तावमा सन्धि गर्न तैयार हुने मनसायमा बसेका थिए ।
अन्तत लामो छलफल पछि वि.सं. १९१२ चैत्र १३ गतेका दिन दुइ देश बिच सन्धि पछि अन्त्य भयो । सन्धि अनुसार भोटले सालाना दशहजार रुपैया उपलब्ध गराउने, भोटमा ब्यापार गरि बसेका कुनै पनि नेपाली ब्यापारीसंग कुनै पनि कर नलिने, एकअर्को देश बिच युद्ध नगर्ने तथा कुनै तेश्रो देशले कसैलाई पनि आक्रमण गर्न आएमा एकअर्कोलाई सहयोग गर्ने, भोटमा कैद रहेका सिख सिपाही, तथा नेपाली सिपाहीका साथै तिनका परिवार र भोटको अधिनमा रहेको नेपाली टोप तथा अन्य गोलीगट्ठाहरु पनि फिर्ता गर्ने । साथै नेपाली सेनाले पक्रि राखेका भोटका सैनिकहरुलाई पनि फिर्ता पठाउने । ल्हासामा नेपाल सरकारका तर्फबाट प्रतिनिधीका रुपमा भारदार राख्ने । ल्हासामा नेपालीहरुले खुशीले चाहेको ब्यापार गर्न छुट दिने । भोटमा रहेका नेपालीहरुमा लुटपाट भएमा भोटकाहरुबाट रकम भराउने । भोटे ब्यापारी माथि नेपालीले लुटपाट गरेमा नेपालीहरुबाट नै रकम भराइ लिने ।
यस सन्धिलाई थापाथली सन्धिका नामले चिनिन्छ । यस सन्धि पछि भोट सरकारले नेपाललाई क्षतिपूर्ति स्वरुप २ लाख ३३ हजार नेपाली रुपैया उपलब्ध गराएको थियो । साथै यो सन्धि अनुरुपको सालाना १० हजार रुपैया नेपाल सरकारले १०० वर्षसम्म बि।सं। २०१२ सम्म पनि पाइरहेकै थियो । तर पनि नेपालले भोट युद्ध विजय पछि झिनो क्षतिपूर्ति मात्र लिइएको भन्ने गरिन्छ ।
यस सन्धिमा नेपालका तर्फबाट श्री ३ जङ्गबहादुरले हस्ताक्षर गरेका थिए भने भोटका तर्फबाट तत्कालिन पोटाला दरवारका ११औ दलाइ लामाको निधन भएको तर नयाँ दलाइ लामाको नियुक्ति नभइ सकेको हुँदा पोटाला दरवारको लामाको प्रतिनिधीका रुपमा छेन मेर डा वाङ ले हस्ताक्षर गरेका थिए ।
यसरी जङ्गबहादुरले भोटमा नेपाली माथि भएको अन्याय र अत्याचारको बदला लिएका थिए । पछि वि.सं. १९४० मा रणोद्वीपको समयमा पनि भोटको अन्याय बिरुद्ध लडाइको तैयारी भएको थियो ।
भोट युद्धको तक्माको कथा
यो तक्माको कथा पनि भोट युद्ध समाप्ति पछिको हो । भोट युद्ध एक्लो जङ्गबहादुरको हौसला र हिम्मतले लडिएको थियो । तर यसका लागि नेपाली सेनाका बिभिन्न पल्टनहरु मात्र होइन जनताहरुले पनि आ(आफ्नो तर्फबाट सक्दो सहयोग गरेका थिए । त्यस युद्धमा महिला तथा बच्चाहरु पनि सहभागि भएका थिए भने । साथै उपत्यकामा रहेका ब्यापारीहरुले पनि खाद्य सामग्री सहयोग गरेका थिए । जसले जे जसरी हुन्छ सहयोग गरेका थिए ।
त्यो युद्ध केवल जङ्गबहादुरको जुङ्गाको लडाइ थिएन । नेपालको राष्ट्रियताको पनि सवाल थियो । तत्कालिन समयमा न न जङ्गबहादुर अचेलका जस्ता गफाडि नेता थिए न त जनता पनि मुकदर्शक भएर नेताले जे गरि पनि हेरिरहने मात्र थिए । जङ्गले आजका माओवादी, एमाले, कांग्रेस तथा राजावादी जस्ता पाण्डे, थापा, बस्न्यातहरू तथा राजाका नजिकका चौतरियाहरु सबलाई सखाप बनाएर सत्तामा आएका थिए । तसर्थ त्यो बेला जनता खासै जङ्गेको बिरोधी थिएनन् ।
भोट युद्धमा विजयी भए पछि जङ्गबहादुरले आफ्नो नाम अंकित तक्मा युद्धमा सहयोग गर्ने सबैलाई दिएका थिए । बिभिन्न पल्टनका सैनिकहरुलाई पल्टनको नाम अंकित चाँदीको तक्मा दिइएको थियो भने अन्यलाई जङ्गबहादुरको नामांकित भएको तक्माहरु दिइएको थियो । यी तक्माहरुको अगाडि तर्फ बिचमा खड्ग निशानी तथा फूलमाला राखिएको थियो भने गोलघेरा बनाएर १९१२ सालमा गोर्षा सरकारबाट भोट फत्येू लेखिएको थियो । तक्माको पछाडि तर्फ बिचमा सैनिकहरुले बोक्ने ढालको निशानी राखिएको थियो भने गोलघेरा बनाएर श्री ३ महाराज जङ्गबहादुर ….. तथा जङ्गबहादुर पछाडि बिभिन्न पल्टनको नाम लेखिएको थियो । अन्दाजी २ तोला अर्थात २०.४९ ग्राम तौल तथा ३७ मिमी ब्यास भएको यी तक्माहरुले तत्कालिन राजा सुरेन्द्र वीर बिक्रम शाह भन्दा जङ्गबहादुर राणालाई प्रख्यात बनाएको थियो ।
यो तक्मा पहिलो पटक पल्टनका सबै तहका सैनिकहरुका लागि एकै किसिमको बाँडिएको थियो भने नेपाली सेनाका १८ पल्टनलाई अलग अलग नाम अंकित तक्मा दिइएको थियो । यसको साथै अन्य १७ किसिमका गरि जम्मा ३५ किसिमका तक्मा बाँडिएको थियो । यि तक्माहरु अन्य तक्मा झै रिवन बाँडिएको थिएन । तर रिवन बाध्ने ठाउँ भने बनाइएको थियो । यो तक्मा खासमा कति संख्यामा बाँडिएको भन्ने स्पष्ट उल्लेख कतै नभेटिए पनि हाल महंगो मुल्यमा बिक्री भएको हुँदा या त धेरै बाँडिएको थिएन । या चाँदीको रुपमा यी बिक्री भए र पगालिएको हुन सक्छ ।
यो तक्मा धेरै नै बाँडिएको थियो, त्यसैले राम्रो हालतका तक्माहरु पनि बिक्रिमा राखेको देखिन्छ । खालसा सैनिकहरुलाई दिइए भन्दा धेरै कम मुल्यमा यो तक्मा पाइन्छ । यी तक्माहरुको बजार मुल्य भने ४०/५० हजार देखि एक लाख पचास हजार सम्म रहेको देखिन्छ ।
मैले पनि एउटा तक्मा काठमाडौमा रहेको एक प्रतिष्ठित मारवाडी परिवारको घरमा देखेको थिएँ । त्यस परिवारले सो तक्मा भोट युद्धको समय रसद पठाए बापत पाएको थियो ।
प्रतिक्रिया