बिहीबार, असार ५, २०८२

यो साता सङ्क्रमणका कारण विदेशमा ज्यान गुमाउने न्यून

नेपालखोज २०७७ साउन ३२ गते १०:३२

काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका नेपालीमा परेको प्रभाव केही मत्थर भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माका अनुसार यो साता सङ्क्रमणका कारण ज्यान गुमाउने गैरआवासीय नेपालीको सङ्ख्या शून्य छ ।

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म भारत, स्पेन, बेल्जियम, कतार, साउदी अरबलगायतका देशमा कोरोना सङ्क्रमणमा सामान्य वृद्धि भए पनि अन्य देशमा भने कोरोना सङ्क्रमणको दर न्यून हुँदै गएको छ ।

विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । हालसम्म नेपालसहित विश्वभर २ सय ९३ जना नेपालीको कोरोना भाइरसले ज्यान गइसकेको छ । कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड्स, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायतका देशमा रहेका नेपालीको ज्यान हो ।

हालसम्म नेपालसहित ५९ हजार ४ सय ११ नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । ती ८३ प्रतिशत अर्थात् ४८ हजार ५०४ जना कोरोना सङ्क्रमणबाट मुक्त भएको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिए ।

५१ हजार ४ सय ४१ जनाको उद्धार

विदेशमा अलपत्रमध्ये हालसम्म ५१ हजार ४ सय ४१ जनाको उद्धार गरिएको छ । गैरआवासीय नेपाली सङ्घ, नेपाली राजदूतावास र कूटनीतिक नियोगबीचको सहकार्यमा कोरोना भाइरसका कारण जारी लकडाउनका कारण विदेशमा अलपत्र नेपालीको उद्धार गरिँदै आएको छ । विभिन्न ३० मुलुकमा भएको ३ सय २७ उडानमार्फत उनीहरुलाई उद्धार गरिएको हो ।

सरकारी नीतिले थप समस्या

दैनिकरूपमा अधिकतम ५ सय जनासम्मलाई मात्रै उद्धार गरेर विदेशबाट ल्याउने सरकारको निर्णयले विदेशमा अलपत्र र समस्यामा परेका नेपाली कामदारलगायत अन्य विविध प्रयोजनले विदेश गएका तर उतै रोकिएका नेपालीको उद्धारमा थप ढिलाइ हुने भएको छ ।

सङ्घअन्तर्गतको वैदेशिक रोजगार समितिका संयोजक तथा उपाध्यक्ष डा बद्री केसीका अनुसार मध्यपूर्वमा हजारौँको सङ्ख्यामा रहेका अलपत्र नेपाली, भिसा अवधि सकिएका तथा महामारीका कारण अन्य विभिन्न समस्यामा परेका नेपालीहरु यो निर्णयले थप निराश बनेका छन् । विशेषगरी मध्यपूर्वमा अलपत्र नेपाली यस निर्णयबाट बढी प्रभावित हुने केसीको भनाइ छ । उनले सरकारले यस विषयमा पुनर्विचार गर्नुपर्ने बताएकाे छ । विदेशमा रहेका नेपालीको जतिसक्दो छिटो उद्धार गर्नुपर्नेमा पछिल्लो निर्णयले थप समस्या थप्ने भएकाले उद्धार अभियानलाई तीव्रगतिमा अघि बढाउन उनले सरकारलाई आग्रह गरे।

यसअघि सरकारले विदेशस्थित कूटनीतिक नियोगको सिफारिसमा ३ सय र वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च व्यहोर्ने गरी २ सय जना गरेर जम्मा ५ सय जनालाई मात्रै उद्धार गर्ने जनाएको थियो ।

२ सय ४६ शव नेपाल ल्याइयो

विदेशमा विविध कारणले मृत्यु भएका २ सय ४६ जनाको शव नेपाल ल्याई परिवारलाई बुझाइएको छ । एक सय ७२ जनाको गन्तव्य मुलुकमै अत्येष्टीका लागि सहमति प्राप्त भएको छ । विदेशमा मृत्यु भएका ४ सय ९४ जनामध्ये अझै ७६ जनाको शव नेपाल ल्याउन बाँकी छ । रासस

प्रतिक्रिया