बुधबार, असार ४, २०८२

करिब तीन सय सात किलो गाँजा सहित कृषि फर्मका संचालक पक्राउ

नेपालखोज २०८१ कार्तिक २८ गते १४:२७

सुनसरी । धरान उपमहानगरपालिका–१७ खैरेनीस्थित सुप्रिम एग्रिकल्चर कृषी फर्मबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ७ किलोग्राम सहित कृषि फर्म संचालक धरान उपमहानगरपालिका–१३ बस्ने ४४ वर्षीय मनिराज राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त फर्ममा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले फर्ममा १० वटा प्लास्टिकको बोरामा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ

ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोल नयाँ पुलस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ८ सय ट्याब्लेट सहित काठमाडौं बस्ने मकवानपुर घर भएका २६ वर्षीय कबिर लामालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टिकाथलीबाट खटिएको प्रहरीले बागमती प्रदेश ०२–०५५ प ०४३५ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटस्थित सडकबाट नियन्त्रित लागूऔषध लुपिजेसिक ५२ एम्पुल, एभिल ५२ एम्पुल र डाइजेपाम ५२ एम्पुल सहित सुनसरी धरान उपमहागनरपालिका–१४ बुढासुब्बा टोल बस्ने २४ वर्षीय सुशिल भुजेललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी मोरङको कटहरी गाउँपालिका–१ महेशपुर बस्ने ४१ वर्षीय गोपाल कुमार राजबंशीलाई अवैध लागूऔषध गाँजा ५ किलोग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त गाँजा विराटनगर महानगरपालिका–४ बस्ने ६२ वर्षीय सहरूद्दिन मियासँग खरिद गरेको खुल्न आएपछि प्रहरीले सहरूद्दिनको घर तलासी गर्दा थप ३ किलोग्राम गाँजा फेला पारी उनलाई समेत पक्राउ गरेको छ ।

झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ६ सय १० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँ व्यास नगरपालिका–१० बस्ने २८ वर्षीय उत्सव पौडेल र काठमाडौं टोखा नगरपालिक–३ बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका–१३ घर भएका ४० वर्षीय अर्जुन राज पाण्डे रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ७ सय ९० मिलिग्राम सहित रौतहट गरूडा नगरपालिका–५ बस्ने २१ वर्षीय रमोध राय यादवलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीटंकीबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका–३ झण्डिनगरस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रमाडोल १३ हजार ट्याब्लेट सहित सोही नगरपालिका–२ झण्डेनगर बस्ने २३ वर्षीय सिकन्दर चौहानलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अल्बानिया पठाइन्दिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

वैदेशिक रोजगारमा अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–१ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ दक्षिणढोका बस्ने २९ वर्षीय मणि कुमार तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

तामाङले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट नगद ५ लाख ३ हजार ९ सय रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ दक्षिणढोकाबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी धनुषा जनकपुर उपमहानगरपालिका–९ ठेगाना भएका ३७ वर्षीय दिब्य श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटन ललितपुरको २०८० असार ३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २ महिना कैद, बिगो २ करोड ५० लाख रूपैयाँ जरिवाना र क्षतिपूर्ति बापत पीडित राहतकोषमा १० लाख रूपैयाँ जम्मा गराउने ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर जावलाखेलबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुर लगनखेल पठाइएको छ ।

यसैगरी पर्साको वीरगंज महानगरपालिका–३ बस्ने ६० वर्षीया मिथलेश निधीको घरमा विद्युत सर्ट भई गए राति आगलागी हुँदा घरभित्र रहेका लत्ताकपडा, नगद, सुनचाँदी गरी करिब ७ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया