बुधबार, असार ४, २०८२

गाडीको ठक्करबाट बालकको मृत्यु

नेपालखोज २०८१ कार्तिक २८ गते १६:५३

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी तिवारी टोलस्थित सडकमा बा.११ च ७६०९ नम्बरको हात्ती गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने महोत्तरी गौशला नगरपालिका–१० घर भएका गणेश थापा मगरको छोरा ९ वर्षीय शिव थापा मगरको मृत्यु भएको छ ।

मंगलबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको शंखरापुर अस्पताल नारायणटार हुँदै ग्राण्डी अस्पताल टोखामा बुधबार दिउँसो उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

ठगीमा संलग्न दुई जना पक्राउ

अमेरिकन डलर साट्ने बहाना बनाई नगद ९ लाख रूपैयाँ ठगी गरेको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ धार्पा बस्ने २६ वर्षीय ललित बहादुर पाईन र २४ वर्षीय कृष्णलाल पाईन रहेका छन् । अमेरिकन डलर साट्ने बहाना बनाई पीडितलाई भक्तपुर चाँगुनारायण नगरपालिका–३ मा बोलाई उक्त नगद ठगी गरी फरार भएका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको प्रहरीले काठमाडौं गोकर्णेश्वर नगरपालिका–४ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २० ग्राम सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गोरखा, गोरखा नगरपालिका–१४ बस्ने २५ वर्षीय अनिल भट्ट र मोरङ बेलवारी नगरपालिका–५ बस्ने २१ वर्षीय टेक बहादुर पुरी रहेका छन् । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले काँकरभिट्टादेखि काठमाडौंतर्फ आउँदै गरेको बा.प्र ०३–००१ ख २९९५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया