आज गुरु नानक जयन्ती !

आज गुरु नानक जयन्ती । नेपालसँग संयोग भनौँ वा गर्वका साथ भनौँ सिखहरूका धर्मगुरु गुरु नानकको सम्बन्ध नेपालसँग पनि गाँसिएको छ । इतिहास कोर्नेहरूका भने केही त्रुतिहरु भेटिन्छ । र पनि गुरु नानक नेपाल आएको थिएनन् भनेर यकिनका साथ भन्न सकिँदैन । यदि सत्य मान्ने नै हो भने इतिहासमा कोरिएका नमिल्दा तथ्यहरू या त मिलाउनु पर्दछ । या त मिथ्या हुन् भन्ने आशङ्का गर्नुपर्ने हुन्छ ।
इतिहासका अनुसार गुरु नानकको जन्म १५ अप्रिल १४६९ भनिएको छ । तर अचेल भने उनको जन्म जयन्ती कार्तिक पूर्णिमाका दिन मनाउने गरिन्छ, जुन नम्वरमा पर्दछ । इतिहासकारहरूले भन्दै आएको जन्म मिति र जन्म जयन्ती मनाउँदै आएको दिन करिब ७ महिनाले फरक परेको देखिन्छ । साथै गुरु नानकको देहावसान २२ सेप्टेम्बर १५३९ मा भएको मानिन्छ । साधारण हिन्दु परिवारमा जन्मनु भएका गुरु नानक सिख धर्मालम्बीहरुको पहिलो धर्मगुरुका रूपमा लिने गरिन्छ । साथै सिख धर्मका प्रवर्तक पनि गुरु नानक नै हुन् ।
गुरु नानक नेपाल आएको मानिन्छ । काठमाडौँ बालाजु निर विष्णुमती नजिकै नानक मठ रहेको छ । जहाँ गुरु नानकले ध्यान गरेको मानिन्छ । तर गुरु नानकको नेपाल आगमनको समयमा नेपालमा राजा जयजगत मल्लको शासनकाल रहेको भनेर लेखिएको छ । जयजगत मल्लको शासनकालसँग गुरु नानकको जीवित समयकाल भने मिल्दैन । गुरु नानकको काठमाडौँ आगमनको समय सन १५१६ भनिएको छ । जुन बेला काठमाडौँ उपत्यकामा राजा रत्न मल्ल राजा थिए । तर जयजगत मल्लको शासनकाल भने १७२२-१७३६ रहेको थियो । यसर्थ करिब २०० वर्षको भिन्नता देखिन्छ ।
अर्को तथ्य नेपालका राजाले बनारसमा गुरु नानकसँग भेट भएको तथा छोरा जयप्रकाश मल्लको उपचारका लागि बनारस पुगेको समय गुरु नानकको आशीर्वादले बिमारी निको भए पछि गुरु नानकलाई नेपाल आउन निम्तो दिएको भन्ने लेखिएको छ । यहाँ इतिहास अलि गलत किसिमले व्याख्या गरेको पाइन्छ ।
राजा जयप्रकाश मल्लको समयमा नेपाल आएका नानक गुरु नानक होइनन् । त्यस बेलाको ताम्र पत्रका अनुसार मायाराम नानकलाई राजा जयप्रकाश मल्लले २२ रोपनी धानखेत बिर्ता बापत दिएको देखिन्छ । जयप्रकाश मल्लको समयमा गुरु नानक होइन मायाराम नानक नानकशाहीमा रहेका थिए । त्यस बेलाको ताम्रपत्रमा उल्लेख भएको नानकशाही नै अहिले भनिने नानक मठ हो । साथै यस ताम्र पत्रका अनुसार नानक भनिने कुनै व्यक्ति वा महन्त होइन नानक सम्प्रदायको नाम भन्ने देखिन्छ । विभिन्न सम्प्रदाय झैँ नानक पनि एक उदासी सम्प्रदायको एक हिस्सा नै रहेको भन्ने बुझिन्छ । यस्तै राजा सुरेन्द्रको शासनकालमा महन्त रामदास नानक थिए । राजा जय जगत मल्लले नानक सङ्गतका नाममा ५३ रोपनी खेत बिर्ता दिएका थिए । यही बिर्तालाई पछि पुन नियमित गरिँदा सुरत नानक महन्त थिए । यसको मिति भने विक्रम सम्वत मार्ग सुदी ५, १८९२ लेखिएको छ । पछि श्री ३ वीर शम्शेरको शासनकालमा बि.सं. १९५३ मा राज गुठीमा सारिएको थियो । त्यति बेला महन्त भने नारायणदास रहेका थिए ।
यस्तै विष्णुमती किनारमा शोभा भगवती नजिकै साढे २७ रोपनी जग्गा राजा गीर्वाणको समयमा मिति विक्रम १८५७ ज्येष्ठ शुदी ५ मा सर्वाङ्ग माफी फकिराना बिर्ताका रूपमा दिइएको थियो । त्यस बेला सङ्गत स्थापनाका लागि विराजमान नानक तथा वसन्तदास नानकका नाममा दिइएको थियो । त्यस्तै फकिराना बिर्ताकै रूपमा रहेको हालको सिंहदरबार क्षेत्रमा रहेको २५ रोपनी जग्गा भने श्री ३ चन्द्रशमशेरले सिंहदरबार बनाउनका लागि लिएका थिए ।
यसरी हेर्दा अहिले गुरु नानकका नाममा नेपालमा उपस्थितिका विषयमा लेखिएका इतिहासहरूमा त्रुटि भेटिन्छ । वास्तविक रूपमा गुरु नानक सन १५१६ अर्थात् बि.सं. १५७३ मा नेपाल आएका हुन सक्छन् । तर अहिले रहेका गुरु नानकसँग जोडेर लेखिएका इतिहासहरू भने नानक पन्थका अरू नै व्यक्तिका नाममा जोडिएको इतिहास रहेको हुँदा गुरु नानकका अनुयायीहरूले नानक पन्थ सुरु गरेको पनि हुन सक्छ । जबकि गुरु नानक सुरुमा तेस्रो उदासीका रूपमा नेपाल आएका थिए । पछि भारतमा पुगेर उनले सिख धर्मको सुरुवात गरेका थिए । तर उनका जेठो छोरा श्री चन्द भने उदासी सम्प्रदायमा नै रहेका थिए ।
हिन्दु धर्ममा रहेका कतिपय कुरीतिहरूको विरोध गर्दै नयाँ धर्मको सुरुवात गरे । उनी हिन्दु नै थिए तर हिन्दु भित्र नै सिख सम्प्रदायको सुरुवात गरे । विवाह गरी दुई छोराको जन्म भइसकेपछि भने उनी आफ्ना चार साथीहरूका साथ उदासी सम्प्रदायमा लागेर भ्रमणमा निस्केका थिए । सुरुमा देश भित्रका विभिन्न स्थलहरूको पैदल भ्रमण गरेका थिए । दोस्रो पटक सन १५०७ देखि १५१४ सम्म करिब ७ वर्ष भारतको दक्षिण भाग तथा श्रीलङ्का पुगेका थिए । तेस्रो यात्रामा हिमालयको यात्राका लागि निस्किए । सन १५१४ देखि १५१९ बिचको यस यात्रा क्रममा नेपाल आएका थिए । काठमाडौँमा एक वर्ष बिताएका थिए भने त्यसपछि पूर्व लागेर जनकपुर तथा कोसी बराह क्षेत्र पुगेका थिए । त्यहाँबाट उत्तर लागेर त्याङबोचे गुम्बासम्म पुगेका थिए । त्याङबोचेमा उनलाई गुरु रिम्पोछेका रूपमा लिएका थिए । यस यात्रा क्रममा तिब्बत सम्म पुगेका थिए । उनको चौथो यात्रामा भने पश्चिम तर्फ लागेर मक्का सम्म पुगेका थिए ।
गुरु नानकजीको जन्म जयन्तीमा सम्पूर्ण सिख समुदायमा शुभकामना ।
सतश्री अकाल
प्रतिक्रिया