यस वर्षको इन्द्रजात्रा र कुमारी जात्रा नहुने
काठमाडौं । कोरोना संक्रमण फैलँदै गएपछि ऐतिहासिक इन्द्रजात्रा र कुमारी जात्रा रोकिएको छ । भगवान इन्द्रको पालादेखि चल्दै आएको विश्वास गरिने परम्परागत इन्द्र जात्रा तथा राजा जयप्रकाश मल्लाको पालादेखि हुँदै आएको जीवित देवी कुमारीको जात्रा यो वर्ष नहुने भएको छ।
कोरोना भाइरसको महामारीलाई मध्यनजर गरेर इन्द्रजात्रा व्यवस्थापन समितिले यो वर्ष इन्द्र तथा कुमारी जात्रासहितका जात्रा नगर्ने निर्णय गरेको समितिका वरिष्ठ उपाध्यक्ष शरदकुमार डंगोलले देश सञ्चारलाई जानकारी दिए। सरकारले धार्मिक स्थल खुला नगरेको तथा भिडभाड नगर्न भनेकाले पनि सोही अनुसार जात्रा स्थगित गरिएको समितिले जनाएको छ।
इन्द्रजात्राका लागि भदौ ३ गते बुधबार काभ्रेको नालाबाट लिंगो ल्याउने साइत हो। तर यो वर्ष लिंगो ल्याउन नजाने उनले जानकारी दिए। भदौ १४ गते लिंगो ढड्याइ त्यसको दुई दिनपछि अर्थात १६ गते इन्द्र जात्रा मनाउने तिथि छ। भगवान इन्द्र आफ्नी आमालाई पूजाका लागि चाहिएको पारिजातको फूल लिन काठमाडौँ (पृथ्वी लोक) आएका बेला ‘चोर’ भनी स्थानीय महिलाले बाँधेर राखेको किंवदन्तीसँग जोडिएको इन्द्र जात्रा कोरोना कहरका कारण नहुने भएको हो। यसअघि २०६५ सालमा इन्द्रजात्रा सुरु भए पनि विधिवत रुपमा सम्पन्न हुन पाएको थिएन्। यस्तै जयप्रकाश मल्लको पालादेखि हुँदै आएको कुमारीको रथ यात्रा पनि पूर्ण रुपमा रोकिएको यो पहिलो घटना भएको समितिले जानकारी दिएको छ।
यसैबिच रातो मच्छिन्द्र नाथाको जात्रा भने अझै अनिश्चित रहेको छ। ढिलो गरी साउन १० गते रथारोहण भए पनि रथ यात्रा सुरु हुन सकेको छैन। आफूहरुले सरकारका सबै नियम मान्ने गरी यात्राका मुख्य १२ प्रक्रिया पूरा हुने गरी जात्रा चाँडो सक्ने योजना बुझाए पनि सरकारको व्यवास्ताका कारण अलमल भएको मच्छिन्द्रनाथको मुल जोतिश खलकका सदस्य ज्योतिश कीर्तिमदन जोशीले बताएका छन्।
भदौ मसान्त भित्र रातो मच्छिन्द्र नाथको मूर्ति बुंगमती लैजानु पर्ने र त्यसका लागि साइत हेर्न जात्रा अन्तर्गत लगनखेलमा महावली दिनै पर्ने भएकाले आफूहरुले बढीमा चार दिन लगाउने गरी बढीमा १०० जनाको प्रयोग गरेर रथ यात्रा गर्ने प्रस्ताव गरेको उनले बताए।
प्रतिक्रिया