शनिबार, असार १४, २०८२

कर सप्ताहमा आन्तरिक राजस्व कार्यालय नयाँ वानेश्वरले गर्यो अनुकरणीय कार्यक्रम

नेपालखोज २०८१ मंसिर ८ गते २०:२१

काठमाडौं । राष्ट्रिय कर दिवस, २०८१ एवं कर सप्ताह देशव्यापी रूपमा विभिन्न कार्यक्रम गरी समापन गरिएको छ । यसै अवसरमा आन्तरिक राजस्व कार्यालय नयाँ वानेश्वरले विभिन्न कार्यक्रम गरेको छ ।

रक्तदान, बक्तृत्वकला, करदाता सचेतना कार्यक्रम र सन्देशमूलक भिडियो उत्पादनलगायत कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रममा ७७ जना रक्तदाताबाट रगत संकलन गरिएको छ ।

मंसिर ६ गते माध्यमिक विद्यालयस्तरीय बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । उक्त कार्यक्रममा २० जना छात्र÷छात्राले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता ‘बिल बिजक लिनेदिने थितिः राष्ट्र निर्माणमा हाम्रो उपस्थिति’ शीर्षकमा आधारित भई संचालन गरिएको थियो ।

प्रमुख कर अधिकृत गोविन्दराज आचार्यको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा प्रोफेसर डा। देवी नेपाल संयोजकत्वमा उपप्रध्यापक रिजन ढकाल एवं आन्तरिक राजस्व विभागका निर्देशक कपिल सुवेदी समेतको तीन सदस्यीय निर्णायक मण्डल रहेको थियो ।

प्रतियोगितामा मदन भण्डारी मेमोरियल कलेजका छात्र नारायण अधिकारी, ग्लोबल कलेज अफ म्यानेजमेन्टका छात्रा सृष्टि गौतम र दिव्य सेकेन्डरी स्कुल प्रा।लि। का छात्र बिकि महतोले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । पुरस्कारको लागि छनोट भएका सबै प्रतियोगी कक्षा ११ मा अध्ययनरत विद्यार्थी थिए ।

कार्यालयको कार्यक्षेत्र अन्तर्गतका विभिन्न ठाउँमा करदाता शिक्षामूलक क्लिनिक एवं कर सचेतना केन्द्रसमेत संचालनमा ल्याइएको थियो । मंसिर ५ र ७ गते संचालित उक्त कार्यक्रममा २४० करदाता एवं उपभोक्तालाई सचेतना गराइएको थियो ।

कार्यालयले ‘बिल बिजक लिनेदिने थितिः राष्ट्र निर्माणमा हाम्रो उपस्थिति’ तथा ‘कर तिर्ने संस्कारः समृद्दिको आधार’भन्ने संकल्पमा आधारित यथार्थपरक, जागरणमूलक एवं सन्देशमूलक भिडियो समेत तयार गरी आन्तरिक राजस्व विभागबाट आयोजना गरिएको कर सप्ताह समापन समारोहमा प्रस्तुत गरिएको थियो ।

उक्त भिडियोलाई कार्यालयको वेबपेज, विभिन्न सामाजिक सञ्जाल एवं विधुतीय संचार माध्याममा समेत निरन्तर प्रशारण गरिने कार्यालयका प्रमुख कर अधिकृत गोविन्दराज आचार्यले बताए ।

कर सप्ताहको समापन कार्यक्रममा कार्यालयको कार्यक्षेत्रअन्तर्गत दर्ता कायम रहेका करदातामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता मारोन ट्रेडिङ्गलाई सम्मान–पत्र तथा करदाता शिक्षा तथा करचेतना सम्बन्धि कार्यक्रममा समन्वय एवं सहकार्यमा पुर्याएको उल्लेख्य योगदानका लागि नयाँ वानेश्वर व्यापार व्यवसायी संघलाई प्रशंसा–पत्र प्रदान गरिएको थियो ।

उल्लेखनीय एवं प्रशंसनीय कार्य सम्पादन गरेकोमा कर अधिकृत रमेश श्रेष्ठ र नायब सुब्बा सुष्मा थापा(क्षेत्री) लाई समेत प्रशंसापत्र सहित पुरस्कृत गरिएको प्रमुख आचार्यले बताए ।

प्रतिक्रिया