राष्ट्रकवि घिमिरेको आज अन्त्यष्टि गरिदै
काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज पशुपतिमा अन्त्यष्टि गरिदैछ । केही समयदेखि बिरामी हुनुभएका राष्ट्रकवि घिमिरेको मंगलबार बेलुकी १ सय १ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको थियो।
उहाँको अन्त्यष्टि आज पशुपतिमा गरिने परिवार स्रोतले जनाएको छ । नेपाली सेनाले अन्तिम सलामी अर्पण गर्नेछ । शव बाहन ,बोक्ने व्यक्ति र परिवारले चाहे अनुसार घिमिरेको दाहसंस्कार गरिने सेनाका प्रवक्ता तथा सहायक रथी सन्तोषबल्लभ पौडेलले बताए ।
योग र ध्यानलाई आफ्नै दैनिक जीवनको हिस्सा बनाएका घिमिरेले गौरी खण्डकाव्यमा आफ्नो पहिलो पत्नी गौरीको निधनको मार्मिक बिलौना गर्नु भएको छ । उमेर बढ्दै गएसँगै र पछिल्लो वर्षको अस्वस्थताको कारणले घिमिरेलाई केही औषधि खानु परे पनि उहाँले १०१ वर्षसम्म पनि स्वस्थ्य जीवन बाँच्नुभयो ।
१९७६ साल असोज ७ गते लमजुङको साबिक बाहुनडाँडा गाविसको पुस्तुनमा जन्मिनु भएका घिमिरेले कवितासँगै साहित्यका अन्य विधामा पनि कलम चलाउनुभएको छ । घिमिरेले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद, लेख, प्रबन्धलगायतका क्षेत्रमा कलम चलाउनु भएको छ । तिमध्ये राष्ट्रकवि घिमिरेका गौरी शोक काव्य सबैभन्दा चर्चित छ । उहाँका ‘नवमञ्जरी, ‘घामपानी, ‘नयाँ नेपाल र ‘किन्नरकिन्नरी आदि कविता सङ्ग्रह प्रकाशित छन् । स्वच्छन्दतावादी भावधाराका कवि घिमिरेका ‘गाउँछ गीत नेपालीजस्ता कैयौँ राष्ट्रिय भावका गीत तथा कविताहरू लोकप्रिय छन् ।
प्रतिक्रिया