शुक्रबार, असार २०, २०८२

आजदेखि लिवर्टी इनर्जीको साधारण शेयर बिक्री शुरु

नेपालखोज २०७७ भदौ ३ गते १४:१६

काठमाडौं । लमजुङमा आयोजनास्थल रहेको माथिल्लो दोर्दी एक जलविद्युत् आयोजनाको प्रवद्र्धक लिवर्टी इनर्जी कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री शुरु गरेको छ । कम्पनीले सर्वसाधारणका लागि ३५ करोड ६४ लाख ९३ हजार बराबरको ३५ लाख ६४ हजार ९ सय ३० कित्ता साधारण शेयर बिक्री खुला गरेको छ ।

कम्पनीको साधारण शेयर आज भदौ ३ गतेदेखि चाँडोमा भदौ ७ र ढिलोमा भदौ १७ गतेसम्म आवेदन दिनसक्ने व्यवस्था गरिएको छ । कम्पनीको साधारण शेयर बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ ।

कम्पनीले प्रतिकित्ता १ सय दरका शेयरमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिनसक्ने व्यवस्था गरेको छ । हाल कम्पनीको अधिकृत पूँजी १ अर्ब ५० करोड र चुक्ता पूँजी १ अर्ब १२ करोड ५० लाख रुपैयाँ छ । साधारण शेयर बिक्रीपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले हाल २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी एक जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आगामी तीन महिनाभित्र आयोजनाले विद्युत् उत्पादन थाल्ने कम्पनीका सञ्चालक राम पाण्डेले जानकारी दिए । आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाइमा विभिन्न नौ वटा बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गरेका छन् ।

आयोजनाको कूल भौतिक प्रगति ९८ प्रतिशत रहेको छ । सोही कम्पनीले बाग्लुङ जिल्लामा २४ मेगावाट क्षमताको बडिगाड खोला जलविद्युत् आयोजना निर्माण गर्ने तयारी थालेको छ । रासस

प्रतिक्रिया