२४२ बस्ती तुरुन्तै सुरक्षित स्थानमा सार्न माग
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका जनप्रतिनिधिले बाढीपहिरो पीडित र जोखिममा रहेकालाई तुरुन्तै सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग माग गरेका छन् । सदरमुकाम चौतारामा बिहीबार बसेको प्राकृतिक विपदका कारण जोखिममा रहेका बस्तीको पहिचान र स्थानान्तरणसम्बन्धी समन्वय बैठकमा उनीहरुले बस्ती स्थानान्तरण गर्दा जीविकोपार्जनतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
बैठकमा सिन्धुपाल्चोकमा २४२ बस्ती बाढीपहिराको जोखिममा रहेको बताइएको छ । पुनःनिर्माण प्राधिकरणका प्राविधिकले गरेको अध्ययनअनुसार यो तथ्यांक आएको हो । तथ्यांकका अनुसार गाउँपालिका भोटेकोशीमा ४९ र बलेफीमा १४ तथा बाह्रबिसे नगरपालिकामा २३ र चौतारा साँगाचोकगढीमा ४ बस्ती जोखिममा छन् ।
त्यस्तै, हेलम्बुमा ३४, इन्द्रावतीमा १९, जुगलमा ३३, लिसंखुपाखरमा १०, मेलम्चीमा १९, पाँचपोखरी थाङ्पालमा ३२, सुनकोशीमा एक र त्रिपुरामा चार बस्ती जोखिममा रहेको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए ।
प्राविधिकले तीमध्ये ७१ बस्ती रेड, ७५ बस्ती एल्लो र ७६ बस्ती ग्रिन जोनमा राखेको बताइएको छ । तीमध्ये पनि अतिजोखिममा रहेका जुगल र बाह्रबिसेका केही बस्तीलाई तत्काल अस्थायी रुपमा स्थानान्तरण गरिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । उनका अनुसार जुगल गाउँपालिकाका लिदी, नाम्फा र बोल्देलाई तत्काल अस्थायी रुपमा स्थानान्तरण गरिने भएको छ । त्यस्तै बाह्रबिसे गाउँपालिकामा ६५ परिवार रहेको बस्तीलाई पनि अस्थायी स्थानान्तरण गर्न लागिएको छ ।
पूर्वमन्त्री शेरबहादुर तामाङले तुरुन्त असुरक्षित बस्ती स्थानान्तरण गर्न सरकार र पुनःनिर्माण प्राधिकरणलाई आग्रह गरे । सांसद तामाङले ढिला गर्दा अझै क्षति हुने भएकाले जनताको सुरक्षामा ध्यान दिन अनुरोध गरे ।
बाढीपहिराको उच्च चपेटामा परेको सिन्धुपाल्चोकमा साउनयता मात्रै ७८ भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । कैयौँ मानिस घरबारविहीन बनेका छन् ।
पहिरोपीडितलाई रु छ लाख सहयोग
जुगल गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङले बुझिलिएको लिदी पहिरो पीडितका लागि देशविदेशका विभिन्न संघसंस्था र व्यक्तिबाट प्राप्त रु पाँच लाख ६२ हजार पाँच सय पहिरो पीडितलाई बिहीबार वितरण गरिएको छ ।
प्रतिक्रिया