सोमबार, वैशाख १५, २०८२

भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने

नेपालखोज २०८१ पुष ४ गते १७:३९

कराची । भारतले आगामी वर्षको च्याम्पियन्स ट्रफीका खेलहरू प्रतियोगिताको आयोजक र चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तान जान अस्वीकार गरेपछि तटस्थ मैदानमा खेल्ने भएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले हप्तौँको झगडापछि बिहीबार जानकारी दिएको छ ।

बदलामा पाकिस्तानले पनि भारतमा आयोजना हुने आगामी आइसिसी प्रतियोगिताहरू अन्य देशहरूमा खेल्नेछ । यसको बारेमा अझै निर्णय हुन बाँकी छ ।

आइसीसी बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सन् २०२४–२०२७ को अधिकार चक्रमा आइसिसी प्रतियोगिताहरूमा दुवै देशले आयोजना गर्ने भारत र पाकिस्तानका खेल तटस्थ स्थानमा खेलिनेछ । यो आगामी आइसिसी पुरुष च्याम्पियन्स ट्रफी २०२५ (पाकिस्तानद्वारा आयोजना गरिएको) मा लागु हुनेछ ।’

यो सम्झौता भारतले आयोजना गर्ने आइसिसी महिला क्रिकेट विश्वकप २०२५ र भारत र श्रीलङ्काले आयोजना गर्ने आइसिसी पुरुष टी–२० विश्वकप २०२६ सम्म विस्तार हुने विज्ञप्तिमा उल्लेख छ ।

सुरक्षा चिन्ता र राजनीतिक तनावका कारण पाकिस्तानमा आफ्नो टोली पठाउने छैन भनी भारतले आइसिसीलाई बताएपछि यो घोषणाले च्याम्पियन्स ट्रफीलाई लिएर एक महिना लामो गतिरोध समाप्त भएको छ । तर पाकिस्तानले भने २०२३ को आइसिसी विश्वकपमा भारतमा खेलेको थियो । रासस/एएफपी

प्रतिक्रिया