बिहीबार, असार १२, २०८२

सुर्खेतमा ‘मानव स्मारक’ बनाउन ९ करोड ७६ लाख संकलन

नेपालखोज २०८१ पुष १५ गते १५:५२

कर्णाली । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ‘मानव स्मारक’ बनाउन ९ करोड ७६ लाख ९२ हजार ८४३ रूपैयाँ संकलन भएको छ । यही मङ्सिर २१-२८ गतेसम्म वीरेन्द्रनगरमा सञ्चालन भएको श्रीमद्भागवत सप्ताह ज्ञान-विज्ञान महायज्ञबाट उक्त रकम संकलन भएको हो ।

महायज्ञ सञ्चालन मूल आयोजक समितिले आज पत्रकार सम्मेलनमार्फत सप्ताहबाट संकलित रकम सार्वजनिक गर्दै सो रकमबाट मानव सेवा आश्रमको कर्णाली प्रदेशस्तरीय भवन अर्थात् ‘मानव स्मारक’ निर्माण गर्ने जनाएको छ ।

मूल आयोजक समितिका संयोजक डा नवराज केसीले पाँच करोड रूपैयाँको लक्ष्य राखिएकोमा करिब दोब्बरले दान संकलन भएको बताए । ‘महायज्ञमा एक रूपैयाँदेखि एक करोड रूपैयाँसम्म रकम दान गर्नुभएको छ,’ संयोजक केसीले भने, “यसमा हामीले समुदायलाई जोडेका छौँ ।’

महायज्ञबाट एक करोड ९७ लाख ६६ हजार ६५ रूपैयाँ नगद, एक करोड ३३ लाख २७ हजार ६०१ नगद क्युआर तथा ‘अनलाइन’ माध्यमबाट प्राप्त भएको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष टीकाराम चपाइले जानकारी दिए । ३७ लाख ८८ हजार ९२१ नगद बराबरको चेक प्राप्त भएको र पाँच करोड चार लाख १६ हजार ३२ नगद स्थानीय तह र विभिन्न सङ्घसंस्थाले दिने प्रतिबद्धता गरेको उनले बताए । उनका अनुसार त्यसमा ५७ लाख ७९ हजार ५८२ नगद व्यक्तिगत प्रतिबद्धता भएको छ । 

महायज्ञ मूल आयोजक समितिका अनुसार कलश यात्रामा प्रयोग भएको कलश बिक्रीबाट ४२ लाख ७४ हजार ८८२ रूपैयाँ र दान पेटिकामा तीन लाख २६ हजार ४५५ रूपैयाँ तथा किताब बिक्रीबाट १३ हजार ३०५ रूपैयाँ संकलन भएको छ । ५० लाख ७४ हजार ८७ रूपैयाँ महायज्ञ सञ्चालनका क्रममा प्रचारप्रसार, यातायात, खाद्यान्न तथा भान्सा, विद्युत्, इन्धन, अतिथि सत्कार खर्च भएको छ ।

संकलित रकमबाट वीरेन्द्रनगर नगरपालिका-११ स्थित गङ्गामाला धार्मिक वन तथा देउती बज्यै सामुदायिक वन समितिले प्रदान गरेका २९ बिघा जग्गामा मानव सेवा आश्रमको प्रदेशस्तरीय ‘मानव स्मारक’ भवन निर्माणको कार्य थालनी गरिने संयोजक केसीले बताए । भवन निर्माणका लागि नौदेखि ११ करोड रूपैयाँ लागत लाग्ने अनुमान गरिएको उनको भनाइ छ । 

डा केसीका अनुसार सरकारको पुँजीले मात्र भवन निर्माण सम्भव नहुने भएकाले महायज्ञमार्फत समाज तथा समुदायबाट पुँजी संकलन गरिएको हो । अबको दुई/तीन महिनामै भवन निर्माण कार्य अगाडि बढाउने तयारी भइरहेको छ । भवनमा सडक आश्रित मानवको उद्धारका लागि मात्र नभई मानव धर्म के हो ? भन्नेबारे बुझाउने मानवता अध्ययन केन्द्रको समेत स्थापना गरिनेछ । 

मानव सेवा आश्रमले ‘मानव स्मारक भवन निर्माणका लागि एउटा छुट्टै विकास समिति गठन गर्ने र सो समितिले नै भवन निर्माण कार्य सम्पन्न गर्ने बताइएको छ । कर्णाली प्रदेश सरकारले पनि भवन निर्माणका लागि चालु आर्थिक वर्षमा एक करोड रूपैयाँ बजेट दिने घोषणा गरेको छ । उक्त महायज्ञमा भागवत भाष्कर कमलनयन गौतम प्रमुख कथा वाचक रहेर नि:शुल्क कथा वाचन गरेका थिए ।

प्रतिक्रिया