सोमबार, वैशाख १५, २०८२

पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

नेपालखोज २०८१ पुष २४ गते १२:४२

काठमाडौं । वैदेशिक रोजगारमा पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी बिष्णुपुर गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–३१ बस्ने ३१ वर्षीय कृष्ण यदुवंशी र गोरखा घर भई काठमाडौं महानरगपालिका–२६ सामाखुसी बस्ने ३७ वर्षीय राजेश बराम रहेका छन् ।

पक्राउ मध्ये कृष्णले पोल्याण्ड पठाइदिन्छु भन्दै पीडितहरूबाट ७२ लाख ४८ हजार १ सय ५० रूपैयाँ र राजेशले ८ लाख ९० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने खुल्न आएपश्चात काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कृष्णलाई काठमाडौं महानगरपालिका–३१ बाट र राजेशलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।

अवैध लागूऔषध सहित सात जना पक्राउ

झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम सहित पाँचथर मिक्लाजुङ गाउँपालिका–४ रवि बस्ने ३१ वर्षीय दिल प्रसाद राई र २९ वर्षीया स्मारिका नेम्बाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीले भारतबाट सिटि सफारीमा नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

पर्साको वीरगञ्ज महानगरपालिका–२० हरपतगञ्जबाट अवैध लागूऔषध गाँजा ५० किलोग्राम सहित बहुदरमाई नगरपालिका–१ विश्रामपुर बस्ने ४० वर्षीय पारस यादव समेत ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–१ बसन्तटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय गोरे सुनारलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया