सोमबार, असार २, २०८२

सहिद दशरथ चन्द ठकुरी प्रति हार्दिक श्रद्धाञ्जली

नेपालखोज २०८१ माघ १५ गते १३:२४

वि.सं. १९६० असार १७ गते बैतडीमा जन्मिएका दशरथ चन्द नेपालगन्जका त्यति बेलाका वडा हाकिम शेरबहादुर चन्दका माहिला छोरा थिए । बाल्यकाल जन्मस्थान बस्कोट र बुबाको जागिरे ठाउँ नेपालगन्जमा बिताए पनि वडा हाकिमका छोरा भएको हुँदा शिक्षा दीक्षाको लागी बनारस र अल्मोडा पुगे । उता स्वतन्त्रता सङ्ग्रामको सुरुवात भइसकेको हुँदा राजनीतिमा केही लाग्न थाल्नु भयो । जङ्गबहादुरको शासन विरुद्ध आन्दोलन गर्ने जयचन्द तथा हरिचन्द वहाँकै पुर्खा थिए ।

बनारसमा इन्ट्रान्स दिएर आइ.ए. पढ्दै गर्दा अचानक वहाँको भेट रामराजा संग भयो । रामराजा जङ्गबहादुरकी छोरी वाग कि कान्छी मैयाको छोरा थिए । मोहन बिक्रम शाह नामले चिनिएका रामराजा चम्पारणका निसन्तान राजाको निधन पछि धर्म छोराको रुपमा चम्पारणको राजा भए पछि रामराजा नामबाट प्रख्यात भएका थिए । यिनै रामराजाले दशरथचन्दलाई चम्पारण विरासतको जग्गाको हेरचाह गर्न म्यानेजर बनाएर चम्पारण लिएर आएका थिए ।

यस्तैमा एकदिन अचानक रामराजाको दरवारमा दशरथको भेट राणाबाट निश्कासित भएका बाबुछोरा टीकप्रसाद र टंकप्रसाद आचार्य संग भयो । टीकप्रसाद पहिले वडाहाकिम थिए तर पछि खोसुवामा परेका थिए । यहि भेटले एउटा मोड लियो । राणा बिरोधी राजनैतिक पार्टी खोल्ने मनसायले अलग अलग भएर काठमाडौ छिरेका यि दुइकै प्रयासमा पछि प्रजा परिषदको गठन भएको थियो ।

१९९३ जेठ २० गते नेपाल प्रजा परिषदको स्थापना भयो । शुरुका सदस्यहरु दशरथ चन्द, टंकप्रसाद, धर्मभक्त, रामहरी शर्मा तथा जीवराज शर्मा थिए । राणाशासन समाप्त गर्ने प्रमुख उद्धेश्य रहेको यो संगठनमा आर्थिक सहयोग दरवारबाट त्रिभुवनले गरेका थिए ।

बिश्वासी साथीको खोजी गर्दै सदस्य बनाउदै हिडेका यिनीहरुको संगठनको सदस्यमा एक गद्दार साथी रामजी जोशी पनि सदस्य बन्न सफल भए । राणा सरकारबाट घोषित ५००० रुपैयाको पुरस्कारको लोभमा यिनले सबै सदस्यको नाम राणा शासकलाई बताइदिए । जसले गर्दा धेरै समातिए टंकप्रसाद भागेर पटना पुगेका थिए । तर दुर्भाग्य कसैले बाबु टीकप्रसाद शिकिस्त भएको पत्र पठाइदिदा फर्केर जनकपुर पुग्दा समातिए ।

१९९७ माघ १५ गते राती गङ्गालालसंगै दशरथचन्दलाई पनि शोभाभगवती लगिएको थियो । गङ्गालाललाई गोली हान्दा पोडे डराएर गलत निशाना लगाएका थिए । ति पोडेहरु भागे पछि अन्य सिपाही ल्याएर दशरथचन्दलाई गोली हान्न लगाइएको थियो । जसले गर्दा एकै गोलीमा उनको देहावसान भयो ।

राणाशासकहरु जनतालाई त्रसित गराउन भोली पल्ट दिनभर नै लाश उठाउन दिदैनथे । लाश नजिकै ठूलो कागजमा गाठगाडी ताकेमा यस्तै गरिनेछ भन्ने चेतावनी लेखेर राख्ने गर्दथे । भनिन्छ १९९७ मा तोकिएको सजायको घोषणा चन्द्रशम्शेरका छोराहरु मोहनशम्शेर, बबरशम्शेर, र केशरशम्शेर जो कमान्डिङ अफिसरहरु थिए को दवावमा जुद्धशम्शेरले गर्न बाध्य भएका थिए । जुद्धशम्शेर त्यति बेला अर्को निर्णयमा पनि समस्यामा परेका थिए ।

राजा त्रिभुवनको नेतृत्वमा अर्को ”रक्तपात मण्डली’ भन्ने गठन भएको थियो । जसको उद्धेश्य राणा परिवारको मुख्य मुख्य सदस्यको हत्या गर्ने थियो । राजाका कम्पाउण्डर चन्द्रमान सैजुलाई नारायणहिटी दरवारको भोजमा आउने निम्तालु उच्च पदस्थ राणाहरुको खानामा बिष मिलाउने जिम्मा दिइएको थियो । जसको कारणले चन्द्रमान सैजुलाई पनि मृत्युदण्ड सुनाउने तथा राजा त्रिभुवनलाई पदच्युत गरि गोरखामा लगेर थुन्ने तथा युवराज महेन्द्रलाई राजा बनाउने मनसाय जुद्धशम्शेरको थियो । जुद्धशम्शेर सामु साँचो बोलेको भनेर चन्द्रमान सैजुलाई सजाय दिइएन सर्वश्वहरण मात्र गरियो ।

राजा त्रिभुवनलाई पदच्युत गर्ने मनसाय भने चन्द्रशम्शेरका छोराहरु जो कमान्डिङ जनरलहरु थिए तिनका कारणले सम्भव भएन । जुद्धशम्शेरका नातिनीको विवाह युवराज महेन्द्रसंग भएको थियो भने चन्द्रशम्शेरका छोराहरु केशरशम्शेर सिंहशम्शेर र कृष्णशम्शेरको विवाह राजा त्रिभुवनका बहिनीहरुसंग भएको थियो । तसर्थ कमान्डिङ जनरल भएर बनेका चन्द्रशम्शेरका छोराहरुको बिमतीले त्रिभुवनलाई पदच्युत गर्न सकेनन् । उता नाति ज्वाइ युवराज महेन्द्रले पनि बाजेले यदि बुबा राजा त्रिभुवनलाई निस्कासित गर्छ भने आफु पनि साथ लागेर जाने भनेका थिए ।

प्रतिक्रिया