बुधबार, जेठ १, २०८२

त्रिविको वार्षिक परीक्षा दशैँ पछाडि हुने

नेपालखोज २०७७ भदौ १३ गते १९:३८

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा दशैँ पछाडि नै हुने भएको छ । यसअघि त्रिविले दशै अघि नै परिक्षा लिइसक्ने योजना बनाएको थियो ।

तर कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । पनिकाले वार्षिक परीक्षा आफैँले सञ्चालन गर्ने र सेमेष्टर परीक्षाको जिम्मा भने सम्बन्धित डिन कार्यालयलाई दिएको छ ।

यसअघि बन्दाबन्दी (लकडाउन) खुलेसँगै सवारी साधन सञ्चालन भएपछि पनिकाले भदौ १६ गतेबाट सेमेष्टर र असोजको पहिलो हप्ताबाट वार्षिक परीक्षा गर्ने तयारी रहेको थियो ।

नियन्त्रक जोशीले चैतसम्म सबै बाँकी रहेका परीक्षा सकाएपछि शैक्षिक क्यालेन्डरमा कुनै असर नपर्ने जानकारी दिए । चारवर्षे शैक्षिक कार्यक्रमलाई ४८ महिनामा सकाउने लक्ष्य पनिकाको रहेको छ । अहिले ती चारवर्षे शैक्षिक कार्यक्रम ४५ देखि ४६ महिनामा सकिने गरेका छन् ।

प्रतिक्रिया