आइतबार, असार ८, २०८२

३० लाख वा सोभन्दा बढी रकमको हायर पर्चेज कर्जाको बारेमा राष्ट्र बैंकमा जानकारी दिनुपर्ने

नेपालखोज २०८१ फागुन १३ गते १९:०५

काठमाडौं । हायर पर्चेजको कारोबार गर्ने कम्पनीहरुको ३० लाख रुपैयाँ वा सो भन्दा बढीको कारोबारको जानकारी दिनुपर्ने भएको छ । अनुमती प्राप्त हायर पर्चेच कम्पनीको नाउँमा मंगलबार परिपत्र जारी गर्दे राष्ट्र बैकले यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

यो निर्देशन अनुसार कम्पनीले ऐनको दफा बमोजिम देहायको अवस्था भएमा सीमा कारोबार विवरण कारोबार भएको मितिले १५ दिनभित्र गोमेल सफ्टवेयर मार्फत वित्तीय जानकारी इकाईमा उपलब्ध गराउनु पर्नेछ ।

यस अन्र्तगत एकै पटक वा पटक–पटक गरी एक आर्थिक वर्षमा कुनै ग्राहकले ३० लाख रुपैंयाँ वा सोभन्दा बढी रकमको हायर पर्चेज कर्जा लिएमा वा एकै पटक वा पटक–पटक गरी एक दिनमा कुनै एक ग्राहकले १० लाख वा सोभन्दा बढी रकम भुक्तानी गरेमा त्यसको जानकारी राष्ट्र बैंकलाई दिनुपर्ने छ ।

राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त हायर पर्चेज कर्जा दिने कम्पनीको लागि सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्था समेत गरेको छ ।

यस बैंकबाट अनुमतिपत्रप्राप्त हायर पर्चेज कर्जा दिनेकम्पनीले (यसपछि यस निर्देशनमा “कम्पनी” भनिएको) सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी लगायत सम्बद्ध कसुरसँग सम्बन्धित वित्तीय अपराध निवारण गर्ने सम्बन्धमा सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ (यसपछि यस निर्देशनमा “ऐन” भनिएको) र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण नियमावली, २०८१ (यसपछि यस निर्देशनमा “नियमावली” भनिएको) मा तोकिएका व्यवस्थाहरुका अतिरिक्त थप व्यवस्थाहरु गर्न जरुरी देखिएको हुँदा सोही ऐनको दफा ७न(१) तथा ७प र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरीे यो निर्देशन जारी गरिएको परिपत्रमा उल्लेख छ ।

यो व्यवस्था अनुसार कम्पनीले उच्च पदस्थ व्यक्तिको वर्गीकरण गर्नुपर्ने छ । परिपत्र अनुसार पदमा बहाल रहेका उच्च पदस्थ व्यक्ति, पदमा बहाल नरहेका उच्च पदस्थ व्यक्ति, छिमेकी वा नजिकका मुलुकको विदेशी उच्च पदस्थ व्यक्ति, अन्य विदेशी उच्च पदस्थ व्यक्ति, अन्तर्राष्ट्रिय संस्थाको उच्च पदस्थ व्यक्तिकोरुपमा बर्गिकरण गर्नुपर्ने छ । परिपत्र अनुसार अस्वभाविक रुपमा वा शंकास्पद तवरबाट कारोबार गर्ने ग्राहकको पनि सुची पनि तयार गर्नुपर्ने छ ।

यस अन्र्तगत उच्च नेटवर्थ भएका ग्राहक, (यस प्रयोजनका लागि उच्च नेटवर्थ जनाउने सीमा वा चरहरु। ग्राहक पहिचान विवरण र शंकास्पद कारोबार सम्बन्धी सूचकहरु कम्पनीले आफै निर्धारण गर्नु पर्नेछ । सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी अपराधमा संलग्न हुन सक्ने आधार देखिएका ग्राहक, भ्रष्टाचार, करछलीलगायत अन्य अपराधिक कार्यका आधारमा उच्च जोखिममा रहेका मुलुकका ग्राहक वा हाल वसोवास वा पेशा वा व्यवसाय गरिरहेको स्थान आदिको आधारमा जोखिममा रहेका ग्राहक बर्गिकरण गर्नुपर्ने छ ।

राष्ट्र बैंकले मंगलबार नैं परिपत्र जारी गर्दै कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषका लागि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्था कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोष (यसपछि यस निर्देशनमा “संस्था” भनिएको) ले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी लगायत सम्बद्ध कसुरसँग सम्बन्धित वित्तीय अपराध निवारण गर्ने सम्बन्धमा सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ (यसपछि यस निर्देशनमा “ऐन” भनिएको) र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण नियमावली, २०८१ (यसपछि यस निर्देशनमा “नियमावली” भनिएको) मा तोकिएका व्यवस्थाहरुका अतिरिक्त थप व्यवस्थाहरु गर्न मन्त्रिपरिषदको निर्णयबमोजिम देहायबमोजिमको निर्देशन जारी गरिएको जनाएको छ ।

यस अन्र्तगत आन्तरिक जिम्मेवारी तथा कार्य विभाजन, जोखिम मूल्याङ्कन प्रणालीको आधार तथा पद्धति, जोखिममा आधारित ग्राहक पहिचान, अद्यावधिक तथा अनुगमन पद्धति, अस्वाभाविक तथा शंकास्पद कारोबारको पहिचान पद्धति लगायतका व्यवस्था गर्नुपर्ने भएको छ ।

प्रतिक्रिया