आइतबार, वैशाख १४, २०८२

लागूऔषधसहित तीन जना पक्राउ

नेपालखोज २०८१ फागुन १४ गते १२:५३

काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगरपालिका-२१ बाट लागूऔषध अफिम जस्तो देखिने पदार्थ १ किलो ७५० ग्राम सहित मकवानपुर कैलाश गाउँपालिका-६ पकनी बस्ने २१ वर्षीय रबिन्द्र मोक्तानलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको बा.६३ प ८२६२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

झापाको दमक नगरपालिका-६ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १२० ट्याब्लेट र स्पास्पेन १२० ट्याब्लेट सहित पाँचथर मिक्लाजुङ गाउँपालिका-५ रबि बस्ने २६ वर्षीय विशाल भुजेललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९०० ट्याब्लेटसहित लमजुङ मस्र्याङ्दी गाउँपालिका-३ भुलभुले बस्ने ३० वर्षीय श्याम कुमार तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्‍ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट लमजुङतर्फ आउँदै गरेको बा.२ ख १४३९ नम्बरको माइक्रो बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया