आइतबार, वैशाख १४, २०८२

अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

नेपालखोज २०८१ फागुन १४ गते १६:३०

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू हुँदै अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रूकुम पश्चिम मुसिकोट नगरपालिका–१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–४ बस्ने २४ वर्षीय मनिषराज खड्का, रूकुम पश्चिम मुसिकोट नगरपालिका–२ घर भई काठमाडौं टोखा नगरपालिका–३ बस्ने २७ वर्षीय मधु कुमार खड्का र ३४ वर्षीय बिरेन्द्र खड्का रहेका छन् ।

उनीहरूले अमेरिका पठाइदिछु भन्दै २ जना पीडितहरूबाट १ करोड ४४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मनिषराजलाई काठमाडौं महानगरपालिका–९ बाट तथा मधु कुमार र बिरेन्द्रलाई काठमाडौं टोखा नगरपालिका–८ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

काठमाडौंको टोखा नगरपालिका–९ दिपज्योतीस्थित सुमन तामाङले संचालन गरेको खाजा घरबाट अवैध लागूऔषध गाँजा १ किलो ७० ग्राम, पोल्याण्ड १ सय ४४ ग्राम र नगद १८ हजार २ सय रूपैयाँ सहित खाजा घर संचालक तामाङ समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले खाजा घरको काउन्टर नजिक कागजमा रोल बनाई लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

दाङको घोराही उपमहानगरपालिका–१३ हेलोटावर डेरा गरी बस्ने राप्ती गाउँपालिका–३ मसुरिया बस्ने २५ वर्षीय दशरथ कामी र उनकै दाजु २८ वर्षीय दिलिप कामीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय १० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको रा.५ प ६७५४ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

मोरङको बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ८० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनवर्षी नगरपालिका–१ बस्ने २२ वर्षीय सनम तामाङ र पथरीशनिश्चरे नगरपालिका–६ बस्ने २२ वर्षीय अनिल राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी मोरङको बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ४ सय १० मिलिग्राम सहित उर्लाबारी नगरपालिका–६ बस्ने ३२ वर्षीय सुन्नी लामालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–२ राम जानकी मन्दिर नजिक बस्ने ४३ वर्षीय हर्क खड्कालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–५ उद्रिचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ३० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–७ बस्ने २३ वर्षीय सागर राना र २८ वर्षीय राम लक्ष्मण राना रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरीको धरान उपमहानगरपालिका–२ भानु चोकबाट नियन्त्रित लागूऔषध ट्रामानिल १ हजार १ सय ९४ क्याप्सुल, स्पारेष्ट ७ ट्याब्लेट र स्पास्पेन १ हजार ४ सय ९० ट्याब्लेट सहित ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१५ बस्ने २६ वर्षीय गणेश राई, सोही उपमहानगरपालिका–१० बस्ने २५ वर्षीया भिम कुमारी विश्वकर्मा र सोही उपमहानगरपालिका–११ बस्ने ३० वर्षीय आशिष खाती रहेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरीको ईटहरी उपमहानगरपालिका–५ जनताबस्ती बस्ने २६ वर्षीय विवश घिमिरेलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ६० क्याप्सुल र स्पास्पेन १ सय ६० क्याप्सुल सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी जनताबस्तीबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

झापाको मेचीनगर नगरपालिका–५ जाग्रिती टोल बस्ने ५२ वर्षीय देवी प्रसाद बुढाथोकीलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ५ सय ६० ग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको संयुक्त टोलीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

पर्साको जिराभवानि गाउँपालिका–३ जितपुरबाट अवैध लागूऔषध गाँजा करिब ४० किलोग्राम सहित पटेर्वासुगौली गाउँपालिका–४ भथौरा बस्ने १९ वर्षीय अर्जुन महतोलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीले नौका टोलबाट जितपुरतर्फ पैदल आउँदै गरेका उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ लेवर्ट चेकप्वाईन्टबाट अवैध लागूऔषध गाँजा ११ किलो ४ सय २० ग्राम सहित मनहरी गाउँपालिका–३ बस्ने ४० वर्षीय दिपक ओझालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसामाडीबाट खटिएको प्रहरीले चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा.४ ख ३९३५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया