गृहमन्त्रीद्वारा भूकम्पपीडितलाई लाभग्राही अनुदान हस्तान्तरण

डडेल्धुरा । गृहमन्त्री रमेश लेखकले डेढ वर्षअघि डोटीमा गएको भूकम्पबाट प्रभावित लाभग्राहीलाई आजदेखि अनुदान रकम हस्तान्तरण थालनी गरे ।
गृहमन्त्री लेखकले डडेल्धुराका भूकम्प प्रभावित लाभग्राही अमरगढी नगरपालिका-३ का प्रकाशराज उप्रेतीलाई अनुदानवापतको पहिलो किस्ता ५० हजार रुपैयाँ हस्तान्तरण गरी सो कार्य आरम्भ गरे ।
गृहमन्त्री लेखकले प्रभावितलाई आगामी असार मसान्तभित्र आवास निर्माण गरिसक्न आग्रह गरे । उनले डोटी भूकम्प गएको डेढ वर्ष बितिसक्दा पनि पुनर्निर्माण र प्रवलीकरणमा ढिलाइ भएको बताउँदै आफूले बितेका सात महिनामा पुनर्निर्माणका लागि मापदण्ड, बजेट व्यवस्थापन र कार्यविधि बनाएर अनुदान दिने अवस्थासम्म ल्याइपुर्याएको बताए ।
मन्त्री लेखकले शुक्रबार बझाङ, शनिबार अछाम र जाजरकोटमा आइतबार पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन इकाई कार्यालय उद्घाटन गरिने जानकारी दिए । उनले बझाङ, डोटी र डडेल्धुरामा भूकम्प प्रभावित क्षेत्रको विस्तृत क्षतिको आकलन गरिएको भए पनि जाजरकोटमा क्षति आकलन गर्न प्राविधिक टोली आवश्यक तालिमसहित खटाइने जानकारी दिए ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा भीष्मकुमार भुसालले डोटी भूकम्पबाट नौ हजार चार सयको हाराहारीमा प्रभावितको पहिचान भएको बताउँदै अब पुनर्निर्माणले गति पाउने विश्वास दिलाए ।
प्रतिक्रिया