बङ्क-नायल-बुडर सडक कालोपत्रको काम अगाडि बढाउने प्रतिबद्धता

कञ्चनपुर । बङ्क-नायल-बुडर सडक कालोपत्र गर्ने ठेक्का भएको चार वर्षपछि मात्रै निर्माण व्यवसायीले काम अगाडि बढाउने प्रतिबद्धता गरेका छन् ।
सडक निर्माणको ठेक्का लिएको सन्तोषी थेगिम जेभीले पूर्वाधार विकास कार्यालयमा लिखित रुपमा सडक कालोपत्र गर्ने प्रतिबद्धता पत्र बुझाएको हो । कृष्णपुर नगरपालिका-२ का वडाध्यक्ष अर्जुनबहादुर साउदले थालेको दबाबमूलक कार्यक्रमपश्चात् बाध्य भएर निर्माण व्यवसायी सम्पर्कमा आएका हुन् ।
वडाध्यक्ष साउदले पाँच दिनदेखि सडक कालोपत्रको माग गर्दै सडकको प्रवेश बिन्दुमै टेबुल, कुर्सी राखेर वडाको सेवा प्रवाह गरी दबाब दिएका थिए ।
सडक धुलाम्मेसँगै खाल्डा हुँदा स्थानीय बासिन्दालाई आवतजावतमै समस्या थियो । सडक कालोपत्र गर्नका लागि निर्माण व्यवसायीले प्रतिबद्धतापत्रसहित कार्य गर्न थालेपछि तत्कालका लागि दबाबमूलक कार्यक्रम स्थगन गरी वडा कार्यालयबाटै सेवाग्राहीलाई सेवा दिन थालिएको वडाध्यक्ष साउदले बताए । उनका अनुसार निर्माण कम्पनीले प्रतिबद्धताअनुसार सडकमा कालोपत्र गर्नका लागि बेस राख्न गिटी फाल्न सुरु गरेको छ ।
निर्माण कम्पनीले आउँदो चैत २० गतेसम्म निर्माण कार्यको बजेट उपलब्ध भएअनुसार सडकमा बेस जम्मा गर्ने र चैत २१ गतेदेखि सडकमा कालोपत्रको काम सुरु गर्ने पूर्वाधार विकास कार्यालयलाई पठाएको प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।
सडक कालोपत्र गर्नका लागि चैतसम्म ठेक्काको म्याद थप गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख योगेन्द्र अधिकारीले बताए । थपिएको म्यादभित्रै निर्माण कम्पनीले सडक कालोपत्र गर्ने प्रतिबद्धता पत्र पठाएको उनले बताए ।
सडक निर्माणका लागि सन्तोषी थेगीम जेभीसँग विसं २०७७ साउन २० गते ठेक्का सम्झौता भई विसं २०८१ वैशाखमा म्याद सकिएको थियो । त्यसपछि विसं २०८२ चैत ३० गतेसम्मका लागि म्याद थप गरिएको छ । हालसम्म सडक निर्माणको प्रगति ३५ प्रतिशत मात्रै रहेको छ । सो सडक खण्डको बङ्कदेखि दोमिल्लासम्म रु ११ करोड ८६ लाखमा सात किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको थियो ।
प्रतिक्रिया