अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा संखुवासभा मकालु गाउँपालिका–२ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–८ हात्तीगौंडा बस्ने २१ वर्षीय सालिकराम बानिया र मकवानपुर इन्द्रसरोवर गाउँपालिका–३ घर भई काठमाडौं कीर्तिपुर नगरपालिका–१४ चौभार बस्ने ३१ वर्षीया एलिना पुरी रहेका छन् ।
पक्राउ मध्ये सालिकरामले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ र एलिनाले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाइएको छ ।
अभौतिक मुद्रा प्रयोग तथा जुवा वा सट्टावाजी गर्न नहुने कसुरमा संलग्न पाँच जना पक्राउ
अभौतिक मुद्रा प्रयोग तथा जुवा वा सट्टावाजी गर्न नहुने कसुरमा संलग्न रहेको अभियोगमा ५ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१४ बस्ने पर्वत जलजला गाउँपालिका–३ घर भएका ३१ वर्षीय रूपेन्द्र जिसी, म्याग्दी बेनी नगरपालिका–५ घर भएका ३३ वर्षीय बिक्रम बानियाँ, बेनी नगरपालिका–२ घर भएका २२ वर्षीय सज्जन घिमिरे, म्याग्दी रघुगंगा गाउँपालिका–२ घर भएका १९ वर्षीय रोजन केसी र २८ वर्षीय सन्दिप कटुवाल रहेका छन् ।
पोखरा महानगरपालिका–१४ अनुपम टोलस्थित घरमा शंकास्पद गतिविधी भइरहेको भन्ने सूचानाको आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई मोबाइल ३१ थान, कम्प्युटर मनिटर २ थान, सिपियु ३ थान, ल्याप्टप ४ थान, आई प्याड १ थान, किवोर्ड २ थान, माउस १ थान, राउटर ४ थान, पेनड्राईभ ३ थान, हार्डडिक्स १ थान, चार्जर ११ थान र नगद ७२ हजार ५ सय रूपैयाँ सहित पक्राउ गरेको हो । साथै उनीहरूले हालसम्म ३० करोड रूपैयाँ बराबरको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
उनीहरू उपर अभौतिक मुद्रा प्रयोग र जुवा खेल्न वा सट्टावाजी गर्न नहुने कसुरमा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया