सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं । रूपन्देहीको सियारी गाउँपालिका–६ सर्जुगंजस्थित सडकमा सर्जुगंजदेखि अमुवातर्फ जाँदै गरेको लु.६३ प ६०४६ नम्बरको स्कुटर अनियन्त्रित भई आइतबार बेलुकी दुर्घटना हुँदा चालक सियारी गाउँपालिका–६ सर्जुगंज बस्ने ५० वर्षीय दुर्गा बहादुर खत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी रूपन्देहीको रोहिणी गाउँपालिका–३ परासीझुंगास्थित सडकमा भैरहवाबाट परासीतर्फ जाँदै गरेको लु.९२ प ८२४७ नम्बरको मोटरसाइकल आइतबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार सियारी गाउँपालिका–४ छपिया बस्ने ५० वर्षीय रामअधारे रायको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका–८ राजावासस्थित सडकमा गाईघाटबाट मुर्कुचीतर्फ जाँदै गरेको प्र.१–०५–००१ प ८३५९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–८ बस्ने ६५ वर्षीया टिका माया कार्कीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल बिराटनगरमा थप उपचारको क्रममा आइतबार साँझ मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाजुराको खप्तड छेडेदह गाउँपालिका–५ चिराल्नास्थित सडकमा डोगडीबाट बुढीगंगातर्फ आउँदै गरेको भे.२ त १५८८ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक बुढीगंगा नगरपालिका–४ खोलालवाडा बस्ने अन्दाजी ३३ वर्षीय पदम रावतको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनालाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया