अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिका–४ शान्तिपुरबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४१ ग्राम ८१ मिलिग्राम सहित सोही नगरपालिका–४ र ६ बस्ने ३ जना किशोरहरूलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले से.७ प ८५५१ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङको बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम ३ सय १० मिलिग्राम सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेलबारी नगरपालिका–११ बस्ने २७ वर्षीय विशाल गुरूङ र सुनसरी इटहरी उपमहानगरपालिका–८ बस्ने १९ वर्षीय आर्यन राजधामी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका विशाललाई ८ ग्राम ४ सय ८० मिलिग्राम र आर्यनलाई २ ग्राम ८ सय ३० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङको रतुवामाई नगरपालिका–४ आमबारी त्रिभुबन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय सुरज ताजपुरिया, २६ वर्षीय बिक्रम चौधरी र २६ वर्षीय अशोक गुरूङ रहेका छन् । इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले शनिश्चरेबाट लारीकट्टातर्फ जाँदै गरेको प्र.१–०१–०१७ प २८७० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ बैंक कोलोनीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ५ ग्राम सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कपिलवस्तु मायादेवी गाउँपालिका–३ बस्ने २४ वर्षीय विवेक पाण्डे, २३ वर्षीय स्वतन्त्र उपाध्याय र १५ वर्षीय किशोर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
हत्यामा संलग्न पाँच जना पक्राउ
हत्यामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं गोठाटार बस्ने सर्लाही बागमती ढुङगेखोला घर भएका २५ वर्षीय कैलाश खड्का, मकवानपुर हेटौंडा शिखरपानी घर भएका २० वर्षीय सुरेश तामाङ, नुवाकोट घर भएका २४ वर्षीय रोशन तामाङ, काठमाडौं गोकर्णेश्वर बस्ने सिन्धुपाल्चोक घर भएकी २० वर्षीया पुजा परियार र एक नाबालक रहेका छन् ।
गोकर्णेश्वर नगरपालिका–७ नामी कलेज नजिक बागमती खोलामा बोरा भित्र अन्दाजी ३५ वर्षीया महिला शनिबार दिउँसो मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ६ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया