सिन्धुलीमा शिक्षक भलिबल प्रतियोगिता सुरु

सिन्धुली । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कमलामाई नगर समितिको आयोजनामा नगरपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाले शुभारम्भ गरे । उनले पहिलो पटक आयोजना गरिएको शिक्षकहरुको प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे ।
प्रतियोगिताले शिक्षकहरूबीच आत्मीयता, सहकार्य र समझदारी बढाउँदै विद्यालय र समुदायमा सामूहिक भावना बलियो बनाउनेमा उनले विश्वास व्यक्त गरे । खेलकुदले स्वस्थ प्रतिस्पर्धा, अनुशासन, धैर्यता र परिश्रमको महत्व सिकाउने र यो विद्यार्थीका लागि पनि प्रेरणादायी हुने उनको भनाइ थियो ।
प्रतियोगिताले सकारात्मक सन्देश दिएको उनले उल्लेख गरे । ‘शिक्षकहरू पठनपाठनमा मात्रै सीमित छैनन् खेलकुद, नेतृत्व, र सामूहिक कार्यमा पनि अब्बल छन् भन्ने प्रतियोगिताले पुष्टि गर्छ’, उनले भने । प्रतियोगितामा कमलामाई नगरका ११ वटा टोली सहभागी भएको नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कमलामाई नगरसमितिका अध्यक्ष दीपककुमार बुढाथोकीले जानकारी दिए ।
प्रतियोगितामा पहिलो हुनेले २० हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनले १० हजारका साथै पदक प्रदान गरिनेछ । प्रतियोगिताले विद्यार्थीलाई खेलप्रति आकर्षित गर्ने र खेल संस्कृतिको विकास गर्ने उनको भनाइ थियो । प्रतियोगिता सञ्चालनपछि विद्यालयस्तरमा खेल पूर्वाधारको विकास हुने आयोजकको अपेक्षा रहेको उनले बताए ।
प्रतिक्रिया