निजी ल्याबको रिपोर्टका आधारमा दाबी भुक्तानी नगर्न बीमा समितिको अनुरोध
काठमाडौं । बीमा समितिले निजी ल्याबमा गरिएको पीसीआर रिपोर्टका आधारमा भुक्तानी दाबी नगर्न बीमा कम्पनीहरूलाई पत्राचार गरेको छ । निजी ल्याबबाट नक्कली पीसीआर रिपोर्ट ल्याउने क्रम बढ्दो भएपछि समितिले यस्तो रिपोर्टका आधारमा भुक्तानी दाबी नगर्न कम्पनीहरूलाई पत्राचार गरेको हो ।
बीमा कम्पनीहरूले कोरोना बीमा गरेका बीमितहरूको पीसीआर रिपोर्ट पोजेटिभ आए भुक्तानी दाबी गर्ने व्यवस्था थियो । सरकारले संक्रमित बढ्दै गएपछि सरकारी ल्याबले मात्रै परीक्षण गर्न नसक्ने भन्दै शुल्क तोकेर निजी ल्याबलाई पनि पीसीआर परीक्षण गर्न अनुमति दिएको छ । तर, राज्यले अनुमति दिएका ल्याबको रिपोर्टलाई आधार मानेर कोरोना बीमा दाबी भुक्तानी नगर्न समितिले पत्राचार गरेको छ ।
नीजि ल्यावबाट नक्कली पीसीआर रिपोर्टका आधारमा दाबी हुन थालेपछि तत्काल यो प्रक्रिया रोक्न बीमा कम्पनीलाई निर्देशनसहित पत्राचार गरेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । समितिले निजी ल्याबमा कोरोना पुष्टि भएका संक्रमितको अवस्था बुझेर, उनीहरूको रिपोर्ट पुनः अध्ययन गरेर मात्र भुत्तानी दाबी गर्ने आग्रह गरिएको उनको भनाइ छ ।
कोरोना बीमा गर्दा सरकारले ५० प्रतिशत अनुदान दिने व्यवस्था गरिएको छ भने कोरोना संक्रमण भएको पीसीआर रिपोर्ट पोजेटिभ आउने बित्तिकै भुक्तानी दाबी गर्नुपर्ने व्यवस्था समितिले गरेको छ । हालसम्म ८ लाख १० हजारभन्दा धेरैले कोरोना बीमा गराएका छन । यी मध्ये करिब ७ सय जनाले भुक्तानी पाएको समितिले जनाएको छ ।
प्रतिक्रिया