शनिबार, वैशाख १३, २०८२

लागूऔषधसहित चार जना पक्राउ

नेपालखोज २०८१ चैत ९ गते २१:५४

काठमाडौं । रूकुम पश्चिमको आठविसकोट नगरपालिका–१३ गाउँबारी बस्ने निर्मल परियारलाई लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ५०० ग्राम र चरेश जस्तो देखिने पदार्थ ५ ग्राम सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आठविसकोटबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ७० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा केराबारी गाउँपालिका–७ बस्ने २३ वर्षीय सनम राई र २७ वर्षीय रूपेश तामाङ रहेका छन् ।

इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी मोरङको उर्लाबारी नगरपालिका-७ बाट लागूऔषध गाँजा ५ किलोग्राम सहित धनकुटा सहिदभूमि गाउँपालिका-७ बस्ने ६३ वर्षीय जिवन राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले धरानबाट काँकडभिट्टातर्फ आउँदै गरेको को.१ ख ७३९८ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया