बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–३१ घर भई बुढानिलकण्ठ नगरपालिका–४ बस्ने ४० वर्षीय बिजय लम्साललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–२ लाजिम्पाटबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको छ ।
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काभ्रेपलाञ्चोक, पनौती नगरपालिका–७ बसपार्कस्थित सडकमा बा.प्र–०१–००३ क ९४८५ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–४ बस्ने ललितपुर महाङकाल गाउँपालिका–२ घर भएका ७० वर्षीया मैया बजगाइको सोमबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिर मेमोरीयल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवनको भरतपुर महानगरपालिका–२९ चौधकिलोस्थित सडकमा बा.प्र.०३–००१ ख ४८७४ नम्बरको ट्रक अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा चालक रौतहट सखुवा घर भएका ३० वर्षीय राम नारायण यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका सहचालकको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया