चैते धानखेतीमा किसानलाई आकर्षित गर्न अनुदान

तनहुँ । चैते धानखेतीतर्फ किसानलाई आकर्षित गर्ने उद्देश्यले तनहुँमा ‘चैते धानखेती प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरिएको छ । अधिकांश सिञ्चित क्षेत्रका खेतमा चैते धान रोपाइँ जारी रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रले चैते धानखेती प्रवर्द्धन कार्यक्रममार्फत किसानलाई ७५ देखि ८५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरी सहज बनाइएको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिृकत एवं सूचना अधिकारी किरण परियारले जानकारी दिए । उनले धान आयातलाई कम गराउने लक्ष्यका साथ अनुदानको व्यवस्था गरिएको बताए ।
सूचना अधिकारी परियारका अनुसार कार्यक्रमअन्तर्गत ढुवानी, बीउ, सिँचाइ, उपकरण खरिदमा अनुदानको व्यवस्था गरिएको छ । धानको बीउमा ७५ प्रतिशत र सिँचाइअन्तर्गत कुलो निर्माण र मर्मतमा ८५ प्रतिशत अनुदानको व्यवस्था छ । दुई हजार ९४० रोपनी खेतमा चैते धानखेती गर्न १३ वटा कृषक समूह तथा सहकारी यस कार्यक्रममा समावेश भएका छन् ।
कार्यक्रमका लागि रु ५० लाख बजेट विनियोजन भएको छ । कृषक समूह तथा सहकारीसँग सम्झौतासमेत भइसकेको केन्द्रले जनाएको छ । कार्यक्रमअन्तर्गत धान चुट्ने थ्रेसर, खेत जोत्ने मिनीटिलर तथा ट्रयाक्टरमा अनुदानको व्यवस्था गरिएको छ । सिँचाइ (कुलो) निर्माणका लागि रु २० लाख बजेट विनियोजन भएको छ ।
चैते धान विशेषगरी चिउराका लागि प्रयोग गरिने तर खेत बाँझो हुँदा भारतबाट आयात हुने गरेको सूचना अधिकारी परियारको भनाइ छ । किसानबाट माग धेरै आए पनि बजेट कम हुँदा सबैलाई समेट्न समस्या भएको उनले बताए ।
जिल्लाका ठूला फाँट सत्रसय, सेपाबगैँचा, कलेस्ती, पुर्कोट, म्याग्दे, तनहुँसुर, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगे फाँटलगायत स्थानमा रोपाइँ भइरहेको छ । उनले भने, “हालसम्म सिञ्चित क्षेत्रको ८५ प्रतिशत चैते धान रोपाइँ सकिएको छ ।”
केही वर्षयता चैते धानखेती कम हुँदै गएकाले यस कार्यक्रम सञ्चालन गरिएको उनले बताए । उनका अनुसार बर्सेनि चैते धानखेती घट्दै गएको छ । अघिल्ला वर्ष छ हजार हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिन्थ्यो । गत वर्ष एक हजार ८०२ हेक्टरमा चैते धानखेती गरिएकामा आठ हजार ७०४ मेट्रिक टन धान उत्पादन भएको थियो ।
यसैगरी आव २०७९÷८० मा दुई हजार ४७० हेक्टर जमिनमा खेती गरिएकामा ११ हजार १८३ मेट्रिक टन धान उत्पादन भएको थियो । चैते धानखेती प्रवर्द्धन कार्यक्रमले धान उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको केन्द्रले जनाएको छ ।
जिल्लामा करिब ५१ हजार ५५० हेक्टर क्षेत्रफलमा खेतीयोग्य भूमि रहेको छ । त्यसमध्ये छ हजार ३४७ हेक्टर क्षेत्रफलमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध छ । तेह्र हजार ५८३ हेक्टर सिञ्चित क्षेत्र र सात हजार २३६ हेक्टर क्षेत्रफलमा बेमौसमी सिँचाइ सुविधा रहेको हुँदा अकासे पानीको भरमा पनि किसानले धानखेती गर्छन् । समयमा पानी नपर्दा यस वर्ष चैते धानखेती कम हुने आकलन केन्द्रले गरेको छ ।
प्रतिक्रिया