शनिबार, वैशाख १३, २०८२

पाँच हजार भन्दा बढी अफगानी नागरिक स्वदेश फिर्ता

नेपालखोज २०८१ चैत २९ गते १७:३६

काठमाडौं । पाकिस्तानबाट तोरखाम सीमा हुँदै पाँच हजार २३६ जना अफगान नागरिक स्वदेश फिर्ता गरिएको जियो न्यूजले अध्यागमन अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ ।

अधिकारीहरूका अनुसार स्वदेश फर्केका मध्ये ३,८६५ जना अफगान नागरिक स्वेच्छाले ‘लान्दी कोटाल ट्रान्जिट क्याम्प’ पुगेका थिए भने पन्जाबमा पक्राउ परेका १०७ जना अफगान नागरिकलाई निर्वासनका लागि तोरखाम लगिएको थियो । उनीहरुले अन्य २९५ जना अफगान नागरिकलाई जम्मू-कश्मीरबाट निर्वासित गरिएको जनाएका छन् ।

स्वदेश फिर्ता अभियानको क्रममा कानुन बमोजिम बसोबास गर्दै आएका अफगानीहरुलाई पनि स्वदेश फिर्ता पठाइएको जनाइएको छ । पाकिस्तानी राज्यमन्त्री तलाल चौधरीले अफगान नागरिकलाई सम्मानजनक रूपमा फिर्ता गरिएको बताउनु भएको छ ।

उनका अनुसार हाल सम्म आठ लाख ५७ हजार १५७ अवैध विदेशी नागरिकलाई स्वदेश फिर्ता पठाइएको छ । पाकिस्तानी सरकारले उनीहरूलाई मार्च ३१ सम्म देश छोड्न समय दिएको बताउदै थप समय उपलब्ध नगरिने उल्लेख गरे । उनले स्वदेश फर्केका अफगान नागरिकले वैध पासपोर्ट र भिसा भएको अवस्थामा पाकिस्तान भ्रमण गर्न, काम गर्न र बस्ने सम्वाभना भने कायम रहेको बताए ।

उनले सन् २०२३ अक्टोबर देखि अवैध विदेशी नागरिकलाई स्वदेश फिर्ता गर्ने नीति लागु भएको स्मरण फिर्ती अभियान चरणबद्ध रूपमा सम्पन्न गरिने बताए ।

पहिलो चरणमा पाकिस्तानले कानुनी कागजात बिना अवैध रुपमा बस्दै आएका विदेशी नागरिकलाई स्वदेश फिर्ता पठाएको थियो । दोस्रो चरणमा, आवाश्यक कागजात भएकाहरुलाईसमेत पठायो । त्यसै गरी तेस्रो चरणमा आवाश्यक कानुनी प्रक्रीया पुरा गरेका नागरिकलाईसमेत स्वदेश फिर्ता पठाइने जियो न्यूजले जनाएको छ ।

प्रतिक्रिया